२८ कार्तिक २०८३, शनिबार

बागमती प्रदेश सरकार कहाँ छ ? कसैलाई पत्तो छैन्ः नेता थपलिया

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार कहाँ छ भन्दै प्रश्न गरेका छन् । उनले प्रदेशका नागरिकहरु रोग र भोकसँगै विपद्सँग लडिरहँदा पनि प्रदेश सरकार बेपत्ता बनेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेश सभाको बैठक झण्डै डेढ महिना बित्ता पनि बैठक नबोलाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

‘नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बाढीपहिरोले जताततै क्षति पुर्‍याइरहेको छ । चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको मंहगी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन् ।’ नेता थपलियाले भने, ‘अधिकांश मन्त्रीहरु राजधानी हेटौंडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन् । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेश सभालाई विजनेस दिन सकिरहेको छैन ।’

उनले प्रदेश सरकारले मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउने काम गरेको भन्दै सरकारको आलोचना गरे । ‘संघीयताका बारेमा शंका उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्ने खालका यस्ता गतिविधिको नेकपा (एमाले) घोर निन्दा गर्दछ । प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक नै बस्न सकिरहेको छैन् । मिनी संसद भनिने संसदीय समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेमा यो हदको सरकारी लापरबाही आम प्रदेशबासी नागरिकहरु प्रतिको अपमान हो भन्ने हाम्रो ठहर छ । तसर्थ नेकपा (एमाले) प्रदेश सभाको बैठक तत्काल बोलाई आमनागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।’ नेता थपलियाले भने ।