
काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका अधिकांश सांसदहरूले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा आज आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले एक क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा कांग्रेस सांसदहरू शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताहरूले निष्पक्ष छानविन समितिमा जोड दिएका थिए । दलको बैठकमा आज आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका थिए ।
भोलि सोमबार ११ बजे पुन: दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको उनले बताएका छन् ।
बैठकमा धेरै विषयमा धारणा आएको भन्दै सवै विषयलाई समेटेर सोमबार उचित निर्णय लिइने लेखकले जानकारी दिए ।
त्यस्तै, बैठकपछि कांग्रेस सांसद एवम् अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको छानबिनका विषयमा धारणा राखेको जानकारी दिए ।
यसैगरी, कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका विषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताए । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्विन्टल परिमाणको सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानबिनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सृजना भएको उनले बताए ।
त्यस्तै, सांसद सुनिल शर्माले राज्यले उत्तरकोरियाको शैलीमा आफूलाई पक्राउ गर्ने काम गरेको बताए । उनले सोमबार सदनमा बोल्न नपाए विद्रोह गर्ने जिकिर समेत गरेका छन् ।
शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताए । उनले भन्सारको जिम्मा लिएको अर्थ र गृहलाई सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गरे ।















प्रतिक्रिया