३ कार्तिक २०८३, मंगलबार

कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए ।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भन्दै प्रश्न समेत गरे । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरुले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरुले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन् । २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्याउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली कांग्रेसका साथीहरुलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली कांग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरुको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन् । तपाईहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईहरुलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए । अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू विरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाए ।

उनले भने, ‘मैले अस्ती प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरुले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुँन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाली सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ती पार्लियामेन्टमा सुनकाण्डबारे विरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे । किन भन्दाखेरी उहिले तिमी विद्यार्थी हुँदाखेरी पढ्दा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले । तिमीले आफूले लेखेकै होइन । अर्को चिट चोरेर पास गरेको । त्यसको छानबिन गर्दैछौं । वा, हत्कडी चाहीँ लागि सक्यो । कसलाई ? एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरु यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहीँ छैन् ।’