
काठमाडौं, २८ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
देशका केहि भू-भागमा आज आइतबार बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको र बागमती, कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राती पनि देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी , प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।











प्रतिक्रिया