
काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरू गरेको पछिल्लो राजनीतिले थप गम्भीर मोड लिने बताएका छन् ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र नेपालको पाँचौं साधारण सभा तथा ‘समृद्ध नेपाल, सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई आज शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पाकिस्तानी मोडेलको राजनीति सुरु गरेको र यसले गम्भीर मोड लिने बताएका हुन् ।
सरकारको विरोधमा बोल्ने सांसद वा कोही पनि नागरिकलाई हतकडी लगाउने राजनीति सामान्य नभएको चर्चा गर्दै उनले सुन तस्करीको विरोध गर्दा कांग्रेस सांसद सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिनु शोभनीय नभएको टिप्पणी गरेका छन् ।
‘मैले हिँजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडलको राजनीति सुरू गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु,’ अध्यक्ष ओलीले भने, ‘सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नाङ्गो नाच के हुन सक्छ, यो सामान्य कुरा होइन ।’















प्रतिक्रिया