
काठमाडौं, २७ साउन । घर, अफिस, तथा सुरक्षित पार्किङबाटै पनि नेपालमा दैनिक पाँच वटासम्म दुईपांग्रे सवारीसाधन हराउने र चोरी हुने गर्छ ।
चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायत समस्याहरू प्रविधिको प्रयोगले समाधान गर्न सकिने भए पनि त्यसको उपलब्धता र प्रयोग नेपालमा न्यून छ । तर, अब भने यो समस्या न्यूनीकरण गर्न केही सहज हुने देखिएको छ ।
अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृति पछिमोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित जीपीएस प्रविधिमा आधारित ‘लोकोमो’ नेपालको बजारमा औपचारिक रूपमा प्रवेश भएको छ ।
लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने लोकोमोका ब्रान्ड एम्बासडर तथा लोकप्रिय सञ्चारकर्मी सुरजसिंह ठकुरी बताउँछन् ।
लोकोमो कार्यविभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एप बाट ‘स्मार्ट लक’ गर्नुपर्छ । यसरी लक गरिएको मोटरसाइकल चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन । कुनै अनधिकृत व्यक्तिले लगि हाले पनि मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारी साधनको लोकेशन पत्ता लगाउन सकिने छ ।
तर, त्यति हुनु अगाडि नै लोकोमोले मोबाइलमा सूचना पठाईसकेको हुन्छ । विशेषत: रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा, अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनीलाई सूचना पठाउँछ ।
यो प्रविधिको बावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन् । नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत बताउँछन् ।

मोटरसाइकल चोरी भएको खण्डमा आफ्नो सवारीको लोकेसन मोटरसाइकल धनी आफैंले प्रहरीलाई नदिँदासम्म नेपाल प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने नसक्ने लोकोमोका प्रविधि प्रमुख बिक्रममान सिंह बस्नेतले जानकारी दिए । ‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्याउनु प्रमुख उद्देश्य रहेको छ, तर नागरिकका व्यक्तिगत गोपनीयता झन् महत्वपूर्ण हुने भएकाले त्यस्ता कुराको हामीले ख्याल राखेका छौं,’ बस्नेतले भने ।
महिला स्कुटर चालकको रात्रीकालीन सुरक्षालक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ, जसले रातीको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ ।
एनआईसी एशिया बैंककी अधिकृत स्कूटर चालक नविना शर्मा लोकोमोले धेरै सजिलो गराएको अनुभव सुनाउँछिन् । ‘राती घर फर्किंदा अब ढुक्क छ । स्कूटर चलाउँदा फोन गर्न मिलेन, अफिसबाट निस्किने बेला मोबाइलमा सेफ्टीनेटको बटन दियो, बुबा आमा स्कुटरको लोकेसन हेर्दै छोरी कहाँ आइपुगी भन्दै कुरेर बस्नुहुन्छ, घरअगाडि पुग्दा ठ्याक्कै ढोका खोल्न आइपुग्नुहुन्छ,’ उनले भनिन् ।
नेपाल प्रहरीका अनुसार तेज गती, लेन अनुशासन, ट्राफिक नियमको उल्लंघन बढीमा त्रामा दुईपांग्रे सवारी साधनका चालकबाट हुने गर्छ र तिनका परिवारका सदस्यलाई आफ्नो छोराछोरी, भाइबहिनीको सुरक्षाबारे सधैं एउटा त्रास रहिरहन्छ । ‘धेरै स्पीड नगर’ भन्नेबाहेक अरु उपाय पनि छैन ।
ट्राफिक कारबाहीका अतिरिक्त त्यस किसिमका गतिविधिहरू नियन्त्रण गर्न परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरीको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुने कम्पनीले दाबी गरेको छ ।
रात्रीकालीन अथवा राजमार्ग यात्रा गर्दा मोटरसाइकल अथवा स्कूटर बिग्रिएको अवस्थामा आफ्नो सबै भन्दा नजिकको वर्कशपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुईपांग्रे सवारीधनीहरू अझै आकर्षित हुने साइन अटो होमका सञ्चालक विश्व श्रेष्ठ बताउँछन् ।
साथै, समूह बनाएर मोटरसाइकलमा लामो यात्रामा निक्लिने युवा वर्गलक्षित अर्को फिचर ‘राइड क्रु’ ले गर्दा अब घुम्न निस्किँदा बाटोमा को कहाँ पुग्यो भन्दै फर्की फर्की पछाडी हेर्न नपर्ने श्रेष्ठ बताउँछन् । ‘लोकोमो मोबाइल एपमा समूह बनाएपछि निश्चित समयका लागि सबैको लोकेसन मोबाइलमै हेर्न मिल्ने र चिया नास्ता खाने, रोक्ने बस्ने ठाँउको चयन र व्यवस्थापन गर्न निकै सहज हुने श्रेष्ठ बताउँछन् ।
पाँच अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कूटरर चारपांग्रे सवारीमा जडान गर्न सकिने यसको प्रवर्द्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ । बालाजुस्थित साइन अटो होमले लोकोमो देशव्यापी बजार व्यवस्थापनको जिम्मा पाएको छ ।















प्रतिक्रिया