सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनएको विशेष अधिवेशन स्थगित, के होला एकता प्रक्रिया ?

दैनिक नेपाल २०८० साउन २७ गते १४:५५

काठमाडौं, २७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष अधिवेशन स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितमा भएको एकतासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै संघकी महासचिव जानुका गुरुङले विज्ञप्ति जारी गरेर विशेष अधिवेशन स्थगित भएको बताएकी छिन् ।

संघको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन गर्नेगरी दुबै पक्षबीच प्रधानमन्त्रीको उपस्थितिमा सहमति भएको थियो । तर, राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा बद्री केसी समूहले सहमति कार्यान्वयन नगरेपछि एकता भाँडिन पुगेको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सहमति राष्ट्रिय समन्वय परिषद्हरुको महाधिवेशनमा कार्यान्वय भएन । धेरै राष्ट्रिय समन्वय परिषद्हरुमा हाम्रा सदस्यहरुलाई एमआईएस प्रणालीमा आवद्ध हुन दिइएन । समय एवं नियमावलीको बहानामा उक्त प्रणालीमा आवद्ध हुन नपाउँदा उम्मेदवारी दिने र मतदान गर्ने प्रक्रियाबाट पूर्णरुपमा योजनावद्धरुपमा अलग्याउन खोजिएको साथीहरुले महशुस गर्नुभएको छ,’ महासचिव गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसी समूहको यस्ता व्यवहारले संघको एकताको ढोका बन्द हुन पुगेको समेत गुरुङले बताएकी छन् । यस्तो अवस्थामा अगष्ट १२ अर्थात् आज हुने भनिएको विशेष साधारणसभामा एनसीसीका प्रतिनिधिबिना आफूहरु सहभागी हुन नसक्ने विज्ञप्तिमा भनिएको छ ।

केसी समूहले योजनावद्ध रुपमा अर्को पक्षका सदस्यहरुलाई सहभागी हुन रोकेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको १६औं बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

महासचिव गुरुङले एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा केसी समूहले स्पष्ट धारणा नआएकोले एकीकरणको ढोका बन्द भएको समेत बताएकी छिन् ।

‘यतिमात्र होइन हामीसँग रहेका, बनेका, राष्ट्रिय महाधिवेशन भएका र हुने तयारीमा रहेका देशका एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा स्पष्ट धारणा नआएको कारण एकीकरणको ढोका बन्द भएको छ । समय गुज्रीसक्यो तर यस विषयमा स्पष्ट धारणा आउने कुनै सम्भावना पनि देखिएन र केवल हामीलाई समय लम्ब्याएर राष्ट्रिय समन्वय परिषद्हरुमा जस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पनि अक्टोबरसम्म लगेर भुलाउने योजना देखिएकोले त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित