३० आश्विन २०८३, शुक्रबार

सांसद सुनील शर्मा पक्राउ परेपछि गम्भीर बन्यो कांग्रेस, के–के भयो संसदीय दलमा ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

आज शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए । उनले पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरुको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

संसदीय दलको बैठकले बाढी पहिरो र डुवानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पुनर्निर्माण, राहत उद्धारको व्यवस्था गर्न माग गरेको छ भने लम्कीस्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले डेंगु र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए । यसैगरी, तराईका केही क्षेत्रमा प्रयाप्त वर्षा नभएका कारण रोपाई र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको जानकारी लेखकले दिए ।

लेखकले जनताको सरोकारका विषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक विषय भएको जिकिर गरेका छन् । सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा उनको छ ।

कांग्रेस संसदीय दलको बैठक आइतबार पुन बस्ने लेखकले जानकारी दिएका छन् ।