
काठमाडौं, २६ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेल प्रतियोगिताका माध्ययमबाट सामुहिक भावनाको विकास हुने बताएका छन् ।
एमालेको सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय फुटसल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलबाट एकता र समृृद्धिमा योगदान पुग्ने बताएका हुन् ।
खेलले मानिसको थकान र मानसिक तनावलाई मुक्त गर्ने चर्चा गर्दै महासचिव पोखरेलले यसकै माध्यममा स्वस्थ जीवनलाई राजनैतिक जीवनमा फर्काउने आधार निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।
महासचिव पोखरेलले प्रतियोगिताको आयोजना गरेर सम्पर्क समन्वय कमिटीले प्रतिभा प्रस्फुटनको अवसर सृजना गरेको उल्लेख गर्दै राम्रो खेल प्रदर्शन गर्न र भविष्यमा पनि खेल जीवनमा सफलता हासिल गर्न शुभकामना दिए ।
सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम कुमार बस्नेतले प्रतिभा प्रस्फुटनसँगै एकअर्कामा सामुहिक भावनाको विकास गर्न यस्तो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिता उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईञ्चार्ज लालबाबु पण्डित, कमिटीका सचिव इन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सम्पर्क समन्वय कमिटी अन्तर्गतको प्रदेश सम्पर्क कमिटीका १४ र आयोजक एक गरी १५ वटा समूह प्रतिष्पर्धामा उत्रिएका थिए ।
त्यसअघि प्रतियोगितास्थल च्यासलमा मार्चपासको आयोजना गरिएको थियो ।















प्रतिक्रिया