३० आश्विन २०८३, शुक्रबार

जातको आधारमा विद्वेष फैलाइए मुलुकको अस्तित्व समाप्त हुन्छ : केपी ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलाउने काम सफल भए मुलुकको अस्तित्व समाप्त हुने बताएका छन् ।

२९औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जातका आधारमा वा केहीका नाममा भावनामा बगाएर कसैले विद्धेष, घृणा र फाटो ल्याउन सफल भए देशको अस्तित्व समाप्त हुने बताएका हुन् ।

नेपालको आफ्नै विविधता भएको भन्दै उनले विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । सबै जात समुदाय धर्म र संस्कृतिको सम्मान गर्दै प्रदेश नं. १ को नामाकरण भएको उनको भनाइ छ ।

समृद्ध नेपाल सुखी नेपाली सबै भुगोलमा बस्ने नेपालीहरुका लागि भएको बताउँदै अध्यक्ष ओलीले आदिवासी जनजाती समुदायको सूचिकृतका सम्बन्धमा देखिएका समाधान गर्नुपर्ने र सबैलाई पहिचानको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए ।

समावेशिताको मुद्दामा विकसित देश भन्दा नेपाल अगाडि

यस्तै, अध्यक्ष ओलीले समावेशिताको मुद्दामा विकसित देशहरू भन्दा पनि नेपाल अगाडि रहेको बताएका छन् । नेपालको संविधानले आदिवासी, जनजाति, पिछडिएका क्षेत्र, वर्ग र समुदायका लागि सकारात्मक र विशेष व्यवस्था गरेको प्रष्ट पार्दै नेपाललाई समानताको पाठ सिकाउने देशले पनि नेपालले जस्तो समावेशी अभ्यास गर्न नसकेको बताएका हुन् ।

मानव जातिले न्याय, समानता, सुरक्षा र सम्मानका लागि कठिन र लामो यात्रा पार गरेर आएको चर्चा गर्दै उनले विभेद, अपमान, असुरक्षा, अशान्ति र दु:ख कष्टलाई समाप्त पार्ने हजारौँ वर्षदेखिको संघर्षले आज नेपाल अधिकारसम्पन्न हुने बिन्दुमा पुगेको उनको भनाइ छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव योगेश भट्टराईलगायत नेताहरू सहभागी थिए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका इन्चार्ज गोकुल घर्तीले १४ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गरेका छन् ।