
पोखरा, २३ साउन । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि युग सुहाउँदो प्रणालीमा लाग्नुपर्ने बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अध्यक्षहरूको छलफल कार्यक्रमलाई पोखरामा सम्बोधन गर्नुहुँदै उनले उत्पादनमुलक र निर्माणमुलक काम नै आजको आवश्यकता भएको चर्चा गर्दै संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
पार्टी निर्माणका लागि युग सुहाउँदो काम चाहिने उनको भनाइ छ । उप महासचिव गुरुङले समाजवादको बाटो हुँदै समृद्धिको गन्तव्यका लागि एकल बहुमतका लागि अबको तयारी हुनुपर्नेमा जोड दिँदै त्यसका लागि परिणाममुखी कामको उद्देश्य राखेर खटिने बेला आएको बताएका छन् ।
योजनाबद्ध कामले गतिशीलता दिने हुँदा पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्कृष्ट परिणामका लागि उद्देश्यमुलक तवरले लाग्नुपर्ने उनको भनाइ छ । जनजीवीकाको सम्बोधनका लागि एकीकृत प्रयास चाहिने मान्यता अनुसार जनसंगठनहरू बनेको हुँदा अब एमालेको एकल बहुमतका लागि सबै लागि पर्न आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश इञ्चार्ज समेत रहनुभएका एमाले सचिव गोकर्ण बिष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसंगठनबाट मात्रै सम्भव हुने बताए । स्थायी कमिटी सदस्य खगराज अधिकारीले जनसंगठन पार्टीका पोषण दिने जरा भएको हुँदा समन्वय प्रभावकारी बनाउन भेला उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे ।
यसैगरी, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले जनतासंगै रहने पार्टी भएको हुँदा हरबखत जनताको घरदैलोमै रहनुपर्ने र सबै जनवर्गीय संगठनका नेता कार्यकर्ता त्यसतर्फ केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा. सूर्य पाठक, केन्द्रीय सदस्य तथा अनेमसंघकी अध्यक्ष टुका हमाल, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बि. पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश कमिटीका जनसंगठन विभाग प्रमुख तथा एमाले गण्डकीका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशअन्तर्गतका सबै जनसंगठनका प्रतिनिधिहरूले आ–आफ्नो संगठनका गतिविधि र भावी योजनासहितको साङठनिक प्रतिवेदन पेश गरेका थिए ।















प्रतिक्रिया