
पोरखा, २२ साउन । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीको १४औँ पूर्ण बैठक आज कास्कीको पोखरामा बसेको छ ।
एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता र संगठनका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्नेलगायत महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले असोजको १५ र १६ गते पोखरामा सो अधिवेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिब एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।
त्यसैगरी बैठकले जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने, सदस्यता विस्तार अभियान तीव्रताका साथ अगाडि बढाउनेलगायत निर्णय पनि गरेको कार्यालय सचिव माधव बास्तोलाले जानकारी दिए ।
एमाले महासचिव शंकर पोखरेलले बैठक उद्घाटन गरेका थिए । कार्यक्रममा महासचिव पोखरेलसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवम् गण्डकी प्रदेशका इञ्चार्ज गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायत नेताहरूले एमालेको अब भावी रणनीति र संगठन मजबुतीकरण अभियानका बारेमा प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका रिपोर्टिङसहित समीक्षा गरेर बैठक सम्पन्न गरिएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्तिबिना देश निर्माण हुन नसक्ने भएकाले एमालेमा गोलबद्ध हुन सम्पूर्ण देशप्रेमीहरूलाई आह्वान गरे भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र रोगको रूपमा रहेको दक्षिणपन्थी अवरसरवादको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
यस्तै, सचिव गोकर्ण बिष्टले एमालेविरुद्धको घेराबन्दी चिर्न पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउनुपर्ने विचार व्यक्त गरे । बैठकमा स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, किरण गुरुङ, थममाया थापालगायतका नेताहरूको सहभागिता थियो ।















प्रतिक्रिया