
काठमाडौं, २२ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्ना नेता र सांसदहरूको नाम जोडिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्तिन थालेको बताएका छन् ।
आज सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका चर्को कुरा गरिरहेका प्रधानमन्त्री प्रचण्ड सुन प्रकरणमा आफ्ना सांसदको नाम आएपछि आत्तिएको बताएका हुन् ।
यस्तै, उनले एमालेले सदन अवरोध नगरेको पनि बताएका छन् । ‘हामीले संसद् अवरुद्ध गरेको होइन’ नेता पोखरेलले भने, ‘एयरपोर्टबाट एक पटकमात्रै होइन, नौ पटक सुन तस्करी भएको छ । भण्डै १४/१५ क्वीन्टल सुन तस्करी भएको छ । त्यसको प्रमाण बाहिर आइसकेको छ । यो सरकार के हेरेर बस्यो ? यसका निकायहरू के हेरेर बसे ? यसमा सरकारमा रहेका मान्छेहरूको भूमिका छ भन्ने सबैले पुष्टि गरिसकेका छन् ।’
यस्तो गम्भीर विषयमा संसदीय समिति बनाएर छानविन गर्नपर्छ भन्दा त्यसलाई अस्वीकार गर्नु भनेको संसद्को सार्वभौम अधिकारमाथि यो सरकारले बालात्कार गरेको ठहरिने उनको भनाइ छ ।
संसदीय समितिले गरेको छानविनलाई अस्वीकार गर्ने हो भने सांसदहरूले सरकारलाई नै अस्वीकार गर्नुपर्ने उनको भनाइ छ । सरकारका निकायहरू संलग्न रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन बाहिर आउँदा एमालेले संसदीय छानविन समितिको माग गर्नु स्वाभाविक भएको उनले बताए । उनले संसदीय छानविन समिति बनेको दिन नै संसद अवरोध हट्ने पनि स्पष्ट पारे ।
यस्तै, उनले ललिता निवास प्रकरणमा माधव नेपालले प्रचण्डको निर्णय कार्यान्वयन गरेको अभिव्यक्ति दिएको उनको भनाइ छ । ‘ललिता निवास प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई र प्रचण्डजी समेत संलग्न हुनुभएको छ,’ उनले भने ।
कार्यक्रममा नेकपा माओवादीका नेता एवम् राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले मदन भण्डारीको हत्याको अनुसन्धानमा समेत संसदीय समितिले काम गर्न नसकेको बताए भने नेकपा एसका नेता एवम् प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले केपी ओलीका कारण ललिता निवास प्रकरणमा आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालको नाम जोडिएको तर्क गरे ।















प्रतिक्रिया