
काठमाडौं, २२ साउन । काठमाडौं स्कूल अफ लका विद्यार्थीहरू आजदेखि ट्राफिक स्वयंसेवकका रुपमा काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा खटिएका छन् ।
स्कूल अफ लमा हिजो आयोजित ट्राफिक स्वयंसेवक कार्यक्रमको, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले समुद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन पालना, मर्यादित सवारी चालक, कानुनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्नु नै आजको आवश्यकता रहेको बताए ।
उनले सडकमा खटिने विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकको ज्याकेट र क्याप समेत वितरण गरेका छन् ।
कार्यक्रममा काठमाडौं स्कूल अफ लका अध्यक्ष तथा पूर्वसचिव डा गोबिन्द कुसुम, कार्यकारी निर्देशक प्राध्यापक डा युवराज संग्रौला, क्याम्पस प्रमुख प्राध्यापक डा कुमार ईङ्गनाम, कार्यमूलक शिक्षण विभागका संयोजक सह–प्राध्यापक ज्ञानु गौतम र शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण समेत दिएको थियो ।
आजदेखि सात दिनसम्म बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीडक र कमलादीमोडमा खटिने स्वयंसेवकहरूले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउने छन् ।
स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
साथै, सडकमा खटिने ट्राफिक स्वयंसेवकहरूले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको बारेमा ट्राफिक प्रहरीलाई खबर गर्नेछन् । विगत लामो समयदेखि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र जनचेतना अभिवृद्धि गर्नका लागि ट्राफिक स्वयंसेवक परिचालित हुँदै आएका छन् ।
यस्तै, ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि सवारी चालक, परिचालक र पैदलयात्री लक्षित विविध कार्यक्रमहरू समेत गर्दै आएको छ ।
अर्काको नाममा ट्रायल दिने एक जना पक्राउ
यसैबीच ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल परीक्षा दिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको महावै गाउँपालिका ६ का ३३ वर्षीय गगन शाही छन् ।
उनलाई दैलेखको महाबु गाउँपालिका १ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया