
काठमाडौं, २१ साउन । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा भोलि सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।
भोलि संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने तयारी रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका छन् । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।
सुन तस्करी प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
भोलि सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।















प्रतिक्रिया