
काठमाडौं, २० साउन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् सिन्धुपाल्चोकका इञ्चार्ज गोकुल बास्कोटाले छोटो समयमै सिन्धुपाल्चोक एमालेमा खुशी फर्काएका छन् ।
नेकपा एमालेबाट चोइटिएर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)बाट एकैपटक करिब डेढ सय जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमै फर्काएर बास्कोटाले सिन्धुपाल्चोक एमालेमा गुमेको खुसी फर्काएका हुन् ।
केही समयको प्रयासलाई सफल पार्दै बास्कोटाले आज नेकपा एसका केन्द्रीय सदस्य सुभाष कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका १३७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले फर्किएका कर्माचार्य नेकपा एस गठन भइसकेपछि एमाले छोडेर सो पार्टीमा प्रवेश गरेका थिए ।
पूर्व सांसद समेत रहेका कर्माचार्य नेकपा एस गएपछि सिन्धुपाल्चोक एमालेमा निराशा छाएको थियो । तर, नेकपा एमालेले गोकुल बास्कोटालाई त्यहाँको इञ्चार्जशीप दिएर पठाएको केही महिनामै बास्कोटाले ठूलो उपलब्धि हासिल गर्दै पार्टीबाट गुमेको खुसी पुन: फिर्ता ल्याउन सफल भएका छन् ।
कर्माचार्यसहितको ठूलो टीम एमाले भित्रिनुमा बास्कोटाको मुख्य भूमिका रहेको बताइएको छ । पार्टीले विभिन्न नेताहरूलाई फरक–फरक जिल्लामा इञ्चार्जशीपको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै उनी करिब दुई महिना आफ्नो कार्यक्षेत्रमा नगई बसे । तर, पार्टीले तोकिएको ठाउँमा जान तीव्र दबाब सृजना गरेपछि उनले एमालेको नेतृत्वसँग नेकपा एसमा रहेका नेता आफूले फर्काउने र उनीहरूको व्यवस्थापनबारे सोचिदिन शर्त राखेको बताइएको छ ।
उनको यिनै पहलबाट आज उनीहरू नेकपा एमालेमा फर्किएका हुन् ।
सिङ्गो जिल्ला नै खाली गरेर एमाले प्रवेश गर्न लागेको सुइँको पाएपछि कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो ।
उनलाई कारबाही गरेको भोलिपल्टै उनी आफ्नो पुरानो घर नेकपा एमालेमा प्रवेश गरेका हुन् । आफूसँगै उनले जिल्ला नै खाली गराएर नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गराएर पार्टी नेतृत्व माधव नेपाललाई चुनौती सृजना गरेका हुन् ।















प्रतिक्रिया