आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नागरिकको निरोगी, स्वस्थ र सक्रिय जीवन एमालेको स्वास्थ्य नीति : केपी ओली

दैनिक नेपाल २०८० साउन २० गते १८:३९

काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको निरोगी, स्वस्थ र सक्रिय जीवन पार्टीको स्वास्थ्य नीति रहेको बताएका छन् ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागद्वारा च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा विभिन्न क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग आज अन्तरक्रिया गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तै निरोगी नेपाल पार्टीको स्वास्थ्यसम्बन्धी गन्तव्य भएको बताएका हुन् ।

उनले वर्तमान गठबन्धन सरकारको कुनै गन्तव्य नरहेका कारण स्वास्थ्य क्षेत्रमा पनि गन्तव्य नरहेको वताउँदै अध्यक्ष ओलीले यो सरकार भ्रष्ट, अधिनायकवादी र दमनकारी भएका कारण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीको नियुक्ति, सरुवा, बढुवामा भेदभावपूर्ण र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा व्यवहार गर्ने गरेको बताए ।

आजको अवस्थामा नेकपा (एमाले)को सरकार नबन्नु देशका लागि ठूलो दुर्भाग्य भएको भन्दै अध्यक्ष ओलीले पार्टी न्यायको पक्षमा र चिकित्सक, स्वास्थ्यकर्मीको साथमा रहेको बताए ।

स्वदेशमै पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई नेपाललाई मेडिकल हब बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै अध्यक्ष ओलीले चिकित्सा शास्त्र अध्ययनका लागि विद्यार्थी विदेश पठाउने र कमिसनवापत पैसा खानेहरूले मेडिकल कलेज खोल्ने कुरामा अबरोध पुर्‍याएको बताउनुभयो ।

कार्यक्रममा पार्र्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्तरक्रियाको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै निरोगी नेपाल गन्तव्य बनाएको एमालेले स्वास्थ्य क्षेत्रका समस्यालाई उच्च प्राथमिकताका साथ ध्यान दिने बताइन् ।

पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रका समस्याका साथै तीन तहको सरकार बनेपछि स्वास्थ्यकर्मीहरूले भोग्नुपरेका अफ्ठ्यारा र अस्तव्यस्तता लगायत विषय ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित