
पोखरा, २० साउन । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार रहुञ्जेलसम्म मुलुकमा सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवम् दुईदिने प्रचार कार्यशाला पोखरामा उद्घाटन गर्दै सचिव बिष्टले वर्तमान सरकार जति लामो समयसम्म चल्छ त्यति नै समय सुशासनको अपेक्षा गर्न नसकिने बताएका हुन् ।
देशले सुशासन खोजिरहेको भए पनि सरकार त्यसतर्फ उन्मुख नरहेको चर्चा गर्दै उनले जनताले प्राप्त गर्ने जुनसुकै सेवा तथा सुविधाहरू अनलाइनमार्फत सहज ढंगले प्राप्त गर्न पाउनुपर्नेमा जोड दिए । आम जनताको अपेक्षा सुशासन र समृद्धि भएकाले सदनभित्र र सदनबाहिर एमालेले यो विषयलाई जोड दिदै आएको पनि उनले बताएका छन् ।
तर, सरकारले एमालेको यो आवाजलाई उल्टै लाञ्छना लगाउँदै आएको बताउँदै सचिव बिष्टले सुशासन प्रदान गर्ने हिसाबले सरकार अघि नबढेको जिकिर गरे ।
‘यो सरकार जति चल्छ त्यति नै देश परनिर्भर रहन्छ, यो सरकार जति लामो चल्नेछ त्यति नै नेपालका युवाहरू काम नपाएर कामको खोजी गर्दै देशबाहिर जानुपर्ने अवस्था सृजना भइरहन्छ । यो सरकार जति लामो चल्नेछ त्यति नै नेपालको स्वतन्त्रता, स्वाधीनता, आत्मसम्मान र राष्ट्रिय गौरवमाथि समस्या पैदा हुनेछ । अर्थात् राष्ट्रिय स्वाभिमानको शीर निहुरिने छ,’ सचिव बिष्टले भने ।
नेकपा एमाले गण्डकी प्रदेशको इञ्चार्ज समेत रहेका बिष्टले यस्ता विषयहरूमा सञ्चारकर्मी र आम सञ्चारका माध्यमले समेत कलम चलाउनुपर्ने र राष्ट्रको हित रक्षामा उभिनुपर्ने बताए ।
‘नेकपा एमालेले सरकार चलाएको बेला आर्थिक वृद्धिदर ६.३ प्रतिशत थियो । तर आज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त सरकार चलाइरहनुभएको छ । नेकपा एमाले सरकारबाहिर छ । तर, यो सरकारको पालामा लगातार तीन वटा त्रैमासमा ०.३, ०.४, ०.६ प्रतिशतले नेपालको आर्थिक वृद्धि ऋणात्मक अवस्थामा देखा परिरहेको छ । यसबाट नेपालको अर्थतन्त्र बलियो र आत्मनिर्भर बन्न सक्दैन,’ सचिव बिष्टले भने । यो तथ्याङ्कले आर्थिक हिसाबले देशलाई माथि उठान नसक्नाका साथै सामाजिक न्याय प्रदान गर्न नसक्ने टिप्पणी उनको छ ।
सरकारमा रहनेहरूले सुशासन र जनअपेक्षा पूरा गर्न नसकिरहेको अपजस प्रतिपक्षमा रहेको नेकपा एमालेले खेप्न परिरहेको बताउँदै उनले सरकारका कमजोरीहरूलाई जनताको बीचमा पुर्याउन पार्टी पङ्क्ति सशक्त ढंगले परिचालित हुन निर्देशन दिएका छन् ।
यस्तै, उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानविन समिति बनाई जरैसम्म पुगेर छानविन गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन एमालेले माग गरिरहेको भए पनि सरकारले चासो नदिएको बताएका छन् । छानविन समिति गठनबाट सरकार भाग्नुले घटनाहरूमा सरकार, सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरू संलग्न रहेको स्वत: पुष्टि भएको पनि उनको भनाइ छ ।















प्रतिक्रिया