
आज साउन १८ गते, ८०औं जीवराज आश्रित जन्मजयन्ती ।
नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी र जीवराज आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा उहाँको जन्मजयन्ती ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक विचारगोष्ठी सहित सम्पन्न भयो ।
कार्यक्रममा सहभागी हुन बुटवल पुगेको बेला प्रतिष्ठानले निर्माण गरेको जीवराज आश्रित सङ्ग्रहालयको अवलोकन गर्ने अवसर जुर्यो । उहाँले प्रयोग गरेको घडी, कपडा तथा सुटकेश, उहाँले प्रयोग गरेका कुर्ची र टेबुलहरू, त्रिशूलीबाट निकालिएका उहाँको गोजीका केही पैसा, उहाँको नागरिकता तथा पासपोर्ट, उहाँको सम्मानमा सरकारले निकालेको हुलाक टिकट तथा उहाँको समयका ग्रामीण सामग्रीहरू आदिको सङ्कलन महत्वपूर्ण र दर्शनीय छन् ।

सङ्ग्रहालय अवलोकन गर्दै गर्दा एउटा रेडियोमा आँखा टक्क अडिए । पुरानो तर अविस्मरणीय सम्झनाले भित्रैसम्म तरङ्गित गर्यो ।
२०३६ सालको कार्तिक महिनाको अन्त्यतिरको एक दिन । हुँगाको पुच्छारमा पर्ने कसौटे गाउँमा नेकपा (माले)को तत्कालीन गुल्मी–पाल्पा कमिटीको बैठक बस्यो । त्यस बैठकले दुईवटा महत्वपूर्ण निर्णय गर्यो– संयुक्त जिल्ला कमिटीलाई अलग अलग सञ्चालन गर्ने र म भूमिगत जाने । त्यतिबेला मैले जनबोध निमाविमा पढाउँथे । त्यो निर्णय मेरो जीवनकै महत्वपूर्ण निर्णय थियो– स्वेच्छाले लिएको । विद्यालयमा औपचारिक विदाइका केही औपचारिकता पूरा गरेर जोखिमपूर्ण तर गौरवयम यात्रा सुरु गर्ने निर्णय गर्दै थिएँ ।

त्यति नै बेला मैले थाहा पाएँ, रिमुवामा एकजना ब्रिटिश लाहुरे छन् र उनले नेशनल प्यानासोनिकको छ ब्याण्डको मिनी रेडियो लिएका आएका छन् । मैले धेरै पल्ट कमरेड आश्रितले सानो रेडियो भए विश्वका घटनाहरु सुन्न र अपडेट हुन पाइन्थ्यो भनेर कुराकानी गरेको सुनेको थिएँ ।
त्यतिबेलासम्म सस्तो मूल्यका चिनियाँ रेडियोहरू तथा इलेक्ट्रोनिक सामग्री नेपाली बजारमा आइसकेका थिएनन् । झ्याट्ट मनमा आयो– यस्तो रेडियो आफ्ना गुरुलाई उपहार दिन पाए । त्यसपछि खोज्दै खोज्दै ती लाहुरेको घरमा पुगें । मूल्य सुन्दा एकछिन त सातो गयो । मैले महिनाको २२५ रुपियाँ तलब पाउँथें र खल्तीमा अन्तिम दुई महिनाको तलब मात्रै बाँकी थियो ।

जागिरको अन्तिम तलबबाट थोरै भए पनि आमाको हातमा राखिदिएर बिदा हुन पाए हुन्थ्यो भन्ने लागेको थियो । तर रेडियो किन्न दुई महिनाको तलब पूरै दिनुपर्ने भयो ।
आमाको माया र पार्टीको मायाको बिचमा एकछिन दोधारमा परेँ । अन्त्यमा पार्टीकै मायाले जित्यो । मैले पूरै पैसा बुझाएर रेडियो किनेँ । त्यहाँबाट फर्किँदा खल्ती रित्तो थियो, तर मन भने फुरुङ्ग । अनपेक्षित उपहार हातमा लिँदा कमरेड आश्रितको मुहारमा देखिएको खुसी र भावुकता मिश्रित भाव अहिले पनि सम्झिन्छु ।
एक साँझ घर गएर आमालाई आफूले लिंदै गरेको अप्ठ्यारो बाटोबारे छोटकरीमा बताएँ । आमाको आँखामा आँसु भरिए । तर, उहाँले रोक्नुभएन । ‘राम्रै बाटो त लिएको होलास् नि’, सोध्नु भयो र ‘जोगिएर हिंड्नू’ भन्नुभयो ।

बुबाले भने खै तलब भनेर सोध्नुभयो । म पढ्न जाने तयारीमा छु, त्यसैले मैले आफै राखें भनेँ । बुबाले मन पराउनुभएन । उहाँसँग म भूमिगत हुन लागेको बताउन सक्दिनथें ।
आज त्यस रेडियोले एकैसाथ कमरेड आश्रित र आमालाई सम्झाइदियो । अलिकति भावुक बनायो ।
हार्दिक श्रद्धाञ्जली आश्रित कमरेड ।
प्रदीप ज्ञवालीको फेसबुकबाट















प्रतिक्रिया