३० आश्विन २०८३, शुक्रबार

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : प्रदीप ज्ञवाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् ।

एमालेका नेता स्व. जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसरमा आज बुटवलमा आयोजित विचारगोष्ठीमा उपमहासचिव ज्ञवालीले सरकारको कमजोरीका कारण मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले राजस्व सङ्कलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताउँदै निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भिर हुनुपर्ने विचार व्यक्त गरे ।

उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा सरकारको ध्यानाकर्षण गराए । एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा डा मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले पार्टीभित्र बढ्दै गएको अराजकता समाधानका लागि जीवराजको विचार अनुशरण गर्नुपर्ने बताए ।