२८ आश्विन २०८३, बुधबार

ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ । लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो । रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् ।

पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिन्छन् । दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन् ।

यसैगरी माओवादीका अर्का नेता एवं उपमहासचिव वर्षमान पुन र उनको परिवारसँग पनि दावा जोडिएका तस्बिर सार्वजनिक भएका छन् । सो तस्बिर धेरै वर्षअघिको भएको र अमला रोकाले ज्वाइँ भेट्टाउन ल्याउँछु भनेपछि मात्रै भेटघाट भएको बताउँदै वर्षमानले दावाको कारोबारमा आफ्नो कुनै सरोकार र साथसहयोग नभएको दाबी गरे ।

अमला रोकाले ज्वाइँ बनाएर ल्याएका दावाले माओवादी नेताहरूलाई कसरी र किन आफ्नो बनाउन सके भन्ने खुलेको छैन । उनले रोल्पाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएर निरन्तर विभिन्न अपराध कर्म गरिरहेको देखिन्छ । अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखायने र ‘लोन’(ऋण) एपमार्फत अवैध असुली गर्ने कार्यमा संलग्न रहँदै आएका उनी माओवादी नेताको साथ नपाएको भए पाँच वर्षअघि नै कानुनको फन्दामा परिसक्थे । तर तत्कालीन नेकपामा शक्तिशाली नेताहरूले उनलाई प्रहरीको नियन्त्रणमा पर्नबाट जोगाएका थिए । दावाको अपराध २०७६ सालमै खुले पनि प्रहरीले उनलाई छुन सकेको थिएन ।

प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनी सजिलै भागेका थिए । ‘त्यतिबेला हामीले उनको निगरानी गरेका थियौं तर १२२ जना चिनियाँ नागरिकलाई बुझाएपछि अनुसन्धानको पाटो अन्त्य गर्न निर्देशन आएको थियो । त्यसकारण अनुसन्धान अघि बढ्न सकेन,’ तत्कालीन एक अनुसन्धान अधिकृतले भने ।

२०७० सालदेखि अमलासँग नजिकिएका दावाले २०७४ सालमा त्यसलाई वैवाहिक सम्बन्धमा परिणत गरे । त्यसपछि बिस्तारै उनी रोल्पाली माओवादी नेतासँग नजिकिएका थिए ।

‘जनयुद्धकाल’मै माओवादीको ‘आधार इलाका’थवाङ छाडेर दाङ आएकी अमला त्यहाँबाट पनि काठमाडौं आएर जडीबुटी र अर्गानिक बेसारको व्यापार गर्थिन् । त्यही क्रममा जडीबुटी व्यापारसँग दावा जोडिएका थिए । २०६३ सालदेखि काठमाडौं बस्दै आएका दावाले अमलालाई फेला पारेपछि कारोबार अझ सहज भएको थियो । अमलाकै कारण सुन तस्करीमा राजनीतिक साइनो देखिएको छ र एक सय किलो सुनमा रोल्पाका माओवादी नेताहरूसमेत अघोषित रूपमा मुछिएका छन् । २०६३ मंसिर २४ गते नेपालमा अपराध गरेको आरोपमा पक्राउ परेका दावाले अन्ततः नेपालबाटै नागरिकता लिएर अपराधको सञ्जाल विस्तार गर्दै गएको पाइन्छ । उनको अपराध सञ्जालमा माओवादी नेताहरूको साथ रहेको खुलेको छ । सन् २०२० मा दीपेश पुन र दावा रसुवाको गोसाइकुण्ड सँगै गएका थिए । मनाङ एयरमा त्यहाँ गएका उनीहरूको सम्पूर्ण खर्च दावाले बेहोरेको स्रोतको दाबी छ ।

यसरी हेर्दा उनीहरूको सम्बन्ध गहिरो देखिन्छ । दीपेश पुनले पनि आफूहरूबीच भेटघाट र चिनजान भएको स्विकारेका छन् । ‘अमला थावाङकै भएकाले उहाँसँग चिनजान र भेटघाट हुनु सामान्य हो तर उहाँहरूको कर्मबारे हामीलाई जानकारी छैन, त्यसमा हाम्रो परिवारको कुनै सहयोग र लुकाउने कार्य भएको छैन,’दीपेश पुनले नागरिकसँग भने ।

सय किलो सुन बरामद भएपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको छ । त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको छ । जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ । पूर्वराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन् । तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने पनि खुलेको छैन । ‘जितेन्द्र दावाकै खर्चमा अमेरिका गएका हुन्,’ स्रोतले भन्यो ।

अमलासँग सम्बन्ध जोडिएपछि दावाले २०७४ पुस २० गते निमा तामाङका नामबाट काभ्रेको नमोबुद्ध ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए । २०७४ सालमै राहदानीसमेत लिएका उनी नक्कली नेपाली हुन् । यो विषयमा नेपाल प्रहरीको विशेष ब्युरोले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन । दावाले बेल्जियमको पासपोर्ट भने दावा छिरिङकै नाममा लिएका छन् । त्यसमा ठेगाना तिब्बतको लिथाङ उल्लेख छ ।

नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष भएकै कारण अमलाले नेताहरूसँग सहज पहुँच बनाएकी थिइन् । उनले विद्यार्थी राजनीतिमा चल्तापुर्जा रहेका दीपेश पुनसँग दावालाई निकट बनाइदिइन् । माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूको जमघट गर्ने केन्द्र बन्दै गएको होटल भियाना उनै अमलाका नाममा दावाले खोलेका थिए । २०७४ सालसम्म सामान्य व्यापारी रहेकी अमलालाई होटल खोल्ने र यति धेरै लगानी गर्ने आर्थिक स्रोत कहाँबाट आयो भन्ने केही खुल्दैन । उनले ठमेलमा होटल खोलेपछि माओवादीनिकट कार्यकर्ताहरूको आउजाउ बढेको छ । थवाङमा केही कार्यक्रम गर्ने भन्दै शनिबार दिउँसो मात्रै अमलासहितको एक टोली पूर्वउपराष्ट्रपति निवास पुगेको थियो । टोली त्यहाँबाट फर्केको रात राजस्व अनुसन्धान विभागले होटल भियनामा छापा मारेको थियो । शनिबार रातिदेखि छापा मारेको विभागको टोलीले आइतबार बिहान दावालाई नियन्त्रणमा लिएको थियो । दावाको विषयमा तिब्बती मूलका भारतीय नागरिक थुप्तेन शेर्पाले बयान दिएपछि विभागको टोली होटल भियाना पुगेको थियो । ‘थुप्तेनकै बयानका आधारमा भियनामा छापा मारिएको र दावालाई पक्राउ गरिएको हो,’ विभाग स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर छ ।