३० आश्विन २०८३, शुक्रबार

लामखुट्टे मार्न कैलालीसहित सुदूरपश्चिमका जिल्लाहरूमा ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १४ साउन । डेङ्गु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले यो रोगको रोकथामका लागि लामखुट्टेको लार्भा बन्न नदिन जिल्लाका पालिका तहमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा यो अभियान सुरू गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा यो रोगबाट हालसम्म तीन सय १८ व्यक्ति बिरामी भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ ।

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा डेङ्गुका एक सय ९० बिरामी फेला परेका छन् । तराईका जिल्ला कञ्चनपुरमा ५२ र कैलालीमा २३ जना बिरामी फेला परेका छन् । पहाडी क्षेत्रको अछाममा ३१ बिरामी पुगेका छन् । जुलाई (असार/साउन) महिनाको हालसम्म प्रदेशभरि थप ४९ जनामा यो रोग देखिएको छ ।

गत मार्च (फागुन/चैत)मा दार्चुलामा सबैभन्दा बढी एक सय १७ बिरामी फेला परेकामा हाल त्यहाँ यो रोगको सङ्क्रमण दर कम देखिएको बताइएको छ ।

यो रोग सार्ने लामखुट्टेले खासगरी दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ ।