
काठमाडौं, १४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ ।
लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
‘यो विषय संसदमा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ,’ ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले आजको बैठकको निर्णय सुनाउँदै भने ।
लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सांसदहरुले माग गरेका थिए ।
समिति सदस्य योगेश भट्टराईले सुन तस्कारी प्रकरणमा नियमित छानविन समिति गठन गरेर निष्कर्ष निस्कन नसक्ने भन्दै स्वतन्त्र रुपमा छानविन गर्ने गरी उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताए ।
त्यस्तै, समिति सदस्य रामकृष्ण यादवले सुन प्रकरणमा मुलुकको बदनाम भएको भन्दै समितिले अर्थमन्त्री र गृहमन्त्रीलाई बोलाएर स्पष्टस्करण लिनुपर्ने बताए ।
यसैगरी समिति सदस्यहरुले सुन तस्करीको घटनाले नेपाल तस्कर र बिचौलियाहरूको लागि ट्रान्जिट प्वाइन्ट देखिएकाले सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, बैठकले ‘सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८०’ पारित गरेको छ ।
सिंचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।
समितिका सदस्यहरुले तराईका जिल्लामा खानेपानीको समस्या रहेको विषय उठाएपछि यो विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको हो ।















प्रतिक्रिया