
काठमाडौं, १२ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब, जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।
आज जिल्ला समिति काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको बिद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।
उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तीव्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।
केही ठूला दलका मुठ्ठी भरका नेताहरुको निमित्त मात्र यो व्यवस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारीहरूलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने व्यवस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे । प्रशिक्षणमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे ।















प्रतिक्रिया