सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनए यूकेको उपाध्यक्षमा निर्विरोध लिलाराम निउरे को हुन ?

दैनिक नेपाल २०८० साउन ११ गते १९:२५

लण्डन, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डको केन्द्रीय उपाध्यक्षमा लिलाराम निउरे निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनएमा लामो समयदेखि सक्रिय निउरे सन् २०२३–२५ कार्यसमितिमा नर्दन आयरल्यान्डबाट केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूरा गर्न विगतका अनुभव र नयाँ योजना समेत समावेश गरेर अगाडि बढ्ने उनको दृढ संकल्प छ । एनआरएनए अभियानमा वर्षौंदेखि आबद्ध रहेर सक्रिय रुपमा कार्य गर्दै आइरहेका निउरे लण्डन केन्द्रित एनआरएनए यूकेलाई राज्य परिषदको अवधारणामा लगेर यूकेभरका सबै नेपालीमाझ पुर्‍याउनुपर्छ भनेर दबाब सिर्जना गर्ने अभियानमा अग्रपंक्तिमा थिए ।

एनआरएनए यूके राज्यस्तरमा विस्तार हुँदै गर्दा संस्थापक समितिमा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसयता संस्थामा अभिभावकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । राष्ट्रिय समन्वय परिषद उपाध्यक्षको रुपमा प्राप्त नयाँ जिम्मेवारीमै केन्द्रित रहने भन्दै उनले उपाध्यक्ष पदलाई अझै जिम्मेवारी र अवसरको रुपमा समेत लिएको बताए ।

गैरआवासीय नेपालीहरूको मुख्य चासोका रुपमा रहेको नागरिकता निरन्तरताको पक्षमा केन्द्रीयस्तरमा लबिङदेखि राज्य समन्वय परिषदहरुलाई थप शसक्त र अधिकारसम्पन्न बनाउने काममा तदारुकताका साथ लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यस्तै, एनआरएनए अभियानमा युवा सहभागिता बढाउने र नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृति हस्तान्तरण गराउने जस्ता सवाललाई पनि उनले महत्वका साथ अघि बढाउने प्रण गरेका छन् ।

संस्थागत विवादलाई कम गर्दै विधानत संस्थाको मर्मलाई आत्मसाथ गरी सबैलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता पनि उनले जनाएका छन् । नर्दन आयरल्यान्डमा बसोबास गर्ने नेपालीहरूको संस्था ‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ को अध्यक्षका रुपमा एक कार्यकाल नेतृत्व समेत गरिसकेका उनी हाल नेप्लिज सेफ एशोसिएसन यूकेमा पनि संस्थापक अध्यक्ष छन् । यसका अलाबा उनी विभिन्न सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहन्छन् ।

बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मिएर वैदेशिक रोजगारीमा लागेका निउरे भारत र गल्फ मुलुकहरूमा कयौं वर्ष बिताएपछि सन् २००५ मा बेलायत आएका थिए । हाल उनी नर्दन आयरल्यान्डमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित