
काठमाडौं, १० साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ पार्टी खुल्दैमा ति पार्टी नयाँ नहुने बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा आयोजना गरेको गण्डकीस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टी विचार र सिद्धान्तले नयाँ हुनुपर्ने बताएका हुन् ।
उनले समृद्विको एजेण्डा बोकेको एकमात्र पार्टी एमाले भएको भन्दै एमालेको विचारलाई जनतासम्म पुर्याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको धारणा राखे ।
पार्टीको भौतिक उपस्थिति डिभाइस र पार्टीको विचार सफ्टवेयर भएको बताउँदै उनले समय अनुसार अपडेट हुन नसके आउटडेटेड हुने र नेता कार्यकर्तालाई अपडेट गराउन प्रशिक्षण आवश्यक पर्ने बताए ।
यस्तै, उपमहासचिव ज्ञवालीले गठबन्धन विचारविहीन, उदेश्यविहीन रहेको टिप्पणी गरे । विचारविहीन गठबन्धनमा माओवादी, माओवादी जस्तो नदेखिएको र कांग्रेस, कांग्रेस जस्तो देखिएको ज्ञवालीले बताए । सत्ताको लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने उनले ठोकुवा गरे ।
तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने लगायत नेताहरूले १० वटा विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ ।















प्रतिक्रिया