
रुपन्देही, ९ साउन । नदीमा एक्कासी बढी आई नदीको बीच भागमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले आज मंगलबार सकुशल उद्धार गरेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा तीन व्यक्तिहरू फसेका थिए । सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो ।
नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहालाई पनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए । त्यसबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो ।
यसैगरी, रुपन्देहीको मायादेवी गाउँपालिका–३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका ६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।
यसैगरी, जिल्लाको बुटवल उपमहानगरपालिका–११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ । नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।















प्रतिक्रिया