३० आश्विन २०८३, शुक्रबार

रास्वपाका संयोजकले पत्रकार कुटेपछि सञ्चारसम्बद्ध संस्थाहरूले जनाए आपत्ति

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ९ साउन । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ ।

रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटेल होलि–डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ ।

खड्का स्वयम् उक्त होटलका सञ्चालक हुन् । खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाललगायतले विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाउँदै संलग्न दोषीलाई कारबाहीको माग गरेको छ ।

‘नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्य एवम् रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ आज मंगलबार नेपाल पत्रकार महासंघका महासचिप रोसन पुरीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमानवीय र अपराधिक शैलीमा पत्रकारमाथि गरिएको आक्रमणको यो घटना प्रेस स्वतन्त्रताविरोधी हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो । पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ ।’

यस्तै, पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका छन् । महासंघ शाखाको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

त्यस्तै, प्रेस चौतारीले विभिन्न ठाउँमा भएका अनियमितताविरुद्ध कलम चलाउँदा पत्रकारमाथि कुटपिट गरेर बसिरहेको ठाउँ छोड्न बाध्य बनाउनु भत्र्सनायोग्य रहेको उल्लेख गरेको छ । चौतारीले व्यक्तिगत रिसिइबी भए एक आपसमा मिलेर समाधान गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए । केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।