
रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहलाई पक्राउ गर्न सत्तारुढ दलहरू नै सडक प्रदर्शनमा उत्रिएका छन् ।
आज मंगलबार दिउँसो रौतहटको सदरमुकाम गौरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा एस, जसपा, लोसपा र जनमतका नेता तथा कार्यकर्ताहरूले साह विरुद्ध प्रदर्शन गर्दै साहलाई पक्राउ गर्न माग गरेका हुन् ।
उनीहरूले साहले विश्वहिन्दु परिषद्का तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या गरेको आरोप लगाएका छन् । सत्तारुढ दलका नेता कार्यकर्ताहरूले ‘हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्यारा प्रभु साहलाई गिराफ्तार गर, कारबाही गर, बहिस्कार गर’ भन्दै नाराबाजी गरेका थिए । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याको फाइल खोल्नुपर्ने र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिका स्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या भएको थियो ।
उनको हत्यामा साहको हात रहेको जिल्लाको नेताहरूको आरोप छ । पर्साका तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेलले साह विरुद्ध मुद्दा दर्ता गरेका थिए । साहमाथि तिवारीको हत्या अभियोगमा मुद्दा दर्ता गरिए पनि तत्कालीन महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो ।
यसैगरी, सत्तारुढ ६ दलको मोर्चाबन्दीले साहलाई पक्राउ गरी गौर राइस मिलको घटनाको छानबिन गर्न माग गरेको छ । सत्तारुढको मोर्चाबन्दीले साहलाई पक्राउ गर्न माग गर्दै गौर स्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मोर्चामा नेकपा एमाले सहभागी छैन् ।
मोर्चाबन्दीमा नेपाली कांग्रेसका जिल्ला सभापति सुनील कुमार यादव, सचिव रामचन्दी गिरी, माओवादी केन्द्रका प्रदेश सांसद वीरेन्द्र पान्डेय, जसपाका केन्द्रीय सदस्य योगेन्द्र यादव, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, पूर्व प्रदेश सांसद बाबुलाल साह कानु, लोसपाका अनिल कुमार सिंह, जनमतका केन्द्रीय सदस्य अशोक सिंहलगायतका रहेका छन् ।















प्रतिक्रिया