शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वीर अस्पतालमा किचनसहितको भीआईपी र भीभीआईपी उपचार कक्ष सञ्चालन

दैनिक नेपाल २०८० साउन ९ गते १५:४७

काठमाडौं, ९ साउन । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरुका लागि आवश्यक सुविधा सहित थप भीआईपी र भीभीआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शैय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैय्या थप गरेर कुल ५ शैय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका छन् । स्वास्थ्यमन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआईपी र भीभीआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।

मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । त्यस्तै, उनले बीरमा बिहान ८ बजेदेखि नै बहिरङ्ग सेवा सुरू गर्ने निर्णय प्रभावकारी देखिएको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित किचेन समेतको सुविधा छ ।

प्रतिक्रिया
सम्बन्धित