
काठमाडौं, ८ साउन । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट–२०२३ सम्पन्न भएको छ ।
हिजो आइतबार हिमालय होटेलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टीमहरूलाई विजयी घोषणा गरिएको हो ।
टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टीमले आ–आफ्नो विचारहरू राखेका थिए । सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गर्यो ।
राधिक थापाको नेतृत्वमा रहेको यो टीमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ बारे विचार प्रस्तुत गरेको थियो । विजेता टीमले १ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । साथै, यस टीमका सदस्यहरूले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टीम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरू भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए । उनीहरूले पुरस्कारस्वरूप ७५ हजार रूपैयाँ प्राप्त गरेका छन् । तेस्रो स्थान ‘बायो–इन्जाइम’ टीमले हासिल गरेको छ । यस टीमले पुरस्कार स्वरूप ५० हजार रूपैयाँ प्राप्त गरेको छ । उनीहरूले वातावरणमैत्रि सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेका थिए ।
टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरूको लागि आफ्नो उद्यमशिल विचारहरू प्रस्तुत गर्ने र उनीहरूको स्टार्टअपहरूमा लगानी गर्ने उदेश्यले सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन नेपालभरका बिभिन्न कलेजहरूका ५० जना विद्यार्थीहरूले आ–आफ्नो विचारहरू प्रस्तुत गरेका थिए । ती मध्ये उत्कृष्ट १० विचारहरूलाई अघिल्लो चरणको लागि छनौट गरिएको थियो ।

उत्कृष्ट १० विचारहरूमा सहभागी भएका ५० जना विद्यार्थीहरू मध्यबाट पाँच टीम बनाइएको थियो । त्यसपछि सो टीमका सदस्यहरूलाई शनिबार विशेषज्ञ तथा टीबीसीका प्रोफेसरहरूले ग्रुमिङ सेसन दिएका थिए । सो सेसनको माध्यमबाट विद्यार्थीहरूले थप ज्ञानहरू प्राप्त गरि आफ्नो विचारहरूलाई सुधार गर्ने र अझै राम्रो प्रस्तुत गर्ने अवसर पाएका थिए ।
कार्यक्रमको अन्तिम दिन विशिष्ट अतिथिहरू प्रा. टीम गोचर ओबीई र डा. पुकार मल्लले आफ्ना भनाईहरू राखेका थिए । त्यसपछि अनुभवि निर्णायकहरू स्नेह राजभण्डारी, आशुतोष दीक्षित, अमित अग्रवाल र ब्रिटिस कलेजका उप–प्राचार्य डा. प्याट्रिक म्याक्रडनको अगाडि टीमहरूले आफ्नो उद्यमशिल विचारहरू प्रस्तुत गरेका हुन् ।
सहभागी विद्यार्थीहरूले नवप्रवर्तन, प्रभाव र दिगो विकासका लक्ष्यहरूमा केन्द्रि रहँदै आफ्ना धारणाहरू राखेका थिए । उत्कृष्ट विचार प्रस्तुत गर्ने तीन टोलीलाई विजेता घोषित गरिएको हो ।
प्रतियोगिताको आयोजनाले विद्यार्थीहरूले आफ्नो विचारहरू प्रस्तुत गर्ने अवसर पाएको टीबीसीको विजनेश स्कुल विभागकी प्रमुख सुनिता बस्नेतले बताइन् । ‘ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशिल इकोसिस्टममा योगदान पुर्याउने लक्ष्य राखको र स्टार्टअप फेस्ट र यसै उदेश्यको हिस्सा हो,’ बस्नेतले भनिन्, ‘उद्यम, प्रभाव र एसडीजी सम्बन्धि पाठ्यक्रमहरू प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा हाम्रा लागि युवाहरूको विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ । त्यसैले हामी यो कार्यक्रम वार्षीक रूपमा आयोजना गर्ने लक्ष्य राखेका छौ । साथै, भविष्यमा अझै धेरै शैक्षिक संस्था तथा उद्योगीहरूसँग सहकार्य गर्न चाहान्छौं ।’















प्रतिक्रिया