
काठमाडौं, ८ साउन । कोरिया रिटर्नीहरूले आफूहरूलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् ।
आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले ईपीएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरूलाई रोजगारका लागि पठाउन माग गरेका हुन् ।
उनीहरूले सरकारले कोरिया रिर्टनीहरूलाई विभेदकारी व्यवहार गरेको आरोप लगाएका छन् ।
कोरिया रिर्टनीका संयोजक नवीनकुमार राईले अहिले खुलाइएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरूलाई पठाउनुपर्ने बताए । आफूहरूले पहिला काम गरेको कम्पनीमा फाइल पठाउनका लागि पटक–पटक आग्रह गर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको गुनासो छ ।
‘रिर्टनीहरूका लागि पहिलाको कम्पनीमा हाम्रो फाइल पठाइयोस् भनेर हामीले माग राखेका छौं । परीक्षा खुलाएको छ, यो परीक्षा खुलाएको नोटिस तुरुन्त हटाइयोस्,’ उनले भने । उनले नयाँ भाषा परीक्षाको लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्ने समेत चेतावनी दिए ।
‘उक्त सूचना नहटाएको खण्डमा हामीले गर्नुपर्ने आन्दोलन एचआरडी नेपालमा घेर्नुपर्ने, वैदेशिक रोजगार विभाग घेर्नुपर्ने वा कोरियन एमवेसीलाई घेर्नुपर्ने हामी गर्छौं । हामी छोड्दैनौं । किनभने हाम्रो भविष्यमाथि खेलबाड गरिएको छ,’ संयोजक राईले भने ।
उनका अनुसार अहिले कोरियाबाट फर्किएर जानका लागि पखाईमा रहेकाहरूको संख्या संख्या चार हजार पाँच सयभन्दा बढी छ । भाषा परीक्षामा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरू पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनि आफूहरूलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनीहरूले आपत्ति जनाए ।
कोरिया रिटर्नी टेकबहादुर थापाले ईपीएस सिस्टममा आफूहरूलाई विभेद गरिएको बताए । आफूहरू एक कार्यकाल कोरिया बसेर नेपाल आएपछि नयाँ समूहसँगै फेरि पनि भाषा परीक्षा पास गरेपनि रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए । अहिले ९८ प्रतिशत नयाँलाई पठाएर २ प्रतिशत मात्रै रिटर्नीहरूलाई समावेश गरिएको थापाको भनाइ छ ।
‘कोरिया भाषा पास गरिसकेपछि रोस्टरमा बस्ने हो । रोस्टरमा दुई हजार मान्छे हुँदाहुँदै किन नयाँ भाषा परीक्षा फर्म खोलियो ? अहिले नेपाल सरकारको मातहतमा र कोरियाको एचआरडी मातहतमा सिविजी भन्ने कोरिया रिर्टनीहरूका लागि भाषा परीक्षा फर्म खोलिएको छ । त्यो फर्म किन खोलिएको हो ? हामी यहाँ पास भएर बसेकै छौं । यो विषयमा नेपाल सरकारले गम्भीर रूपमा लिईदिनु पर्यो,’ उनले भने ।
पत्रकार सम्मेलनमा कोरिया रिटर्नीहरू निर्मल राणा मगर, नारायण प्रसाद भुसाल, विनोद शाक्य लगायतले राज्यले नयाँ र रिटर्नीहरूबीच विभेद गरेको बताए । युवाहरूको भविष्यमाथि खेलबाड नगर्न उनीहरूले सरोकारवालाको ध्यानाकार्षण गराए ।















प्रतिक्रिया