३० आश्विन २०८३, शुक्रबार

तीनै तहका एमाले सरकारले गरेका कामको प्रभावकारी प्रचार आवश्यक छ : गोकर्ण बिष्ट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ साउन । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण बिष्टले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न तीन वटै तहमा एमाले नेतृत्वको सरकारले यसअघि गरेका कामहरूको प्रभावकारी प्रचार आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया बैठकमा उनले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनुपर्ने बेला भएको बताउँदै पार्टीले लक्षित गरेको परिणाम निस्कनेगरी काममा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

यस्तै, उनले संगठनात्मक अराजकता र स्वेच्छाचारिताले पार्टी सबल हुन नसक्ने र नेतृत्वदेखि कार्यकर्ता तहसम्म त्यसको अन्त्य अबको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन् । अवसरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित व्यक्तिगत स्वार्थमा केन्द्रित भएर एमालेका नेता तथा कार्यकर्ताहरू परिचालित हुन नुहने उनको भनाइ छ । उनले पार्टी प्रणालीमा चल्ने हुँदा विधि र प्रक्रियाबाटै अनुशासन स्थापित गर्ने उद्घोष समेत गरेका छन् ।

देशले आशा गरेको एक मात्र पार्टी एमाले भएको चर्चा गर्दै उनले एमालेका नेता तथा कार्यकर्ताहरूले देश र जनताको हितमा मात्रै केन्द्रत भएर काम गर्नुपर्ने विचार उनले व्यक्त गरेका छन् । सचिव बिष्टले एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले सबैभन्दा बढी जनताकेन्द्रित काम गर्नुपर्ने पनि बताएका छन् ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अब नेतृत्व होस् वा कार्यकर्ता सच्चिनुको विकल्प नभएको उल्लेख गरे । काङ्ग्रेस र माओवादीले सिद्धान्त छोडेको र नयाँ उदाएको भनिएका पार्टीहरूको कुनै कार्यनीति र सिद्धान्त नभएको कुरा जनतालाई स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । उनले पार्टीविरूद्ध भएका अनर्गल प्रचारलाई परास्त गर्न प्रतिवाद नै आवश्यक भएको जिकिर गर्दै एकमना एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

यसैगरी, पार्टी प्रदेश कमिटीका उपसचिव एवम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मी आचार्यले कमीकमजोरीहरूबाट सिक्दै पार्टीको शाख उचो गर्नेगरी अझै घनिभुत तबरले लागि पर्ने बताए । पार्टी सबै प्रकारका क्षमताहरूको मिश्रण भएको हुँदा सबै सदस्यको क्षमता र क्षेत्रको आधारमा जिम्मेवारी निर्धारण गरिने भन्दै उनले कामले नै सबैको स्थान निर्धारण गर्ने स्पष्ट गरे ।

बैठकमा गण्डकी प्रदेश कमिटीमा कास्कीबाट प्रतिनिधित्व गर्ने सचिवालय सदस्य एवम् सदस्यहरूको उपस्थिति रहेको पार्टीका गण्डकी प्रदेश कमिटी प्रचार विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पुण्य पौडेल, आनन्द सुवेदी, लक्ष्मी अधिकारी, भुपेन्द्र गिरी, कालिदास सुवेदी, पूर्ण गिरी, प्रभा कोइराला, शोभा मोहन पौडेल, चतुरे विक, ईश्वर आचार्य, बिधा बिमल बराल, पार्वती जीसी, भीमप्रसाद बास्तोलालगायतले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाका सन्दर्भमा आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।