
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् ।
आज भएको निर्वाचनअन्तर्गत ओली नेतृत्वको पर्यवेक्षक टोलीले त्यहाँको टोल पोर्क प्रावि, हुन सेन पिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रको पर्यवेक्षण गरेको हो ।
ती मतदान केन्द्रमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएका छन् । पर्यवेक्षणको क्रममा अध्यक्ष ओलीले स्थानीय मिडियाहरू र अल जजिरा टिभीसँग संक्षिप्त कुराकानी समेत गरेका छन् ।

यस्तै, उनले आज श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान संसद सदस्य मैत्रीपाला सिरिसेनासँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन् । उनले आजै शान्तिका लागि अन्तर्राट्रिय उच्च परिषदले आयोजना गरेको रात्री भोजमा पनि सहभागिता जनाएका छन् ।
निर्वाचन पर्यवेक्षणमा नेपाली डेलिगेशनका रूपमा एमालेका उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, संविधान सभा सदस्य मिलन राजवंशी, नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला, एमाले वागमती प्रदेश कमिटीका सदस्य राजेश बज्राचार्य, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकाललगायत सहभागी थिए । डा. भट्टराई र नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला आइक्यापको कार्यक्रममा सहभागी हुन कम्बोडिया पुगेका हुन् ।

कम्बोडियाको यो आम निर्वाचनमार्फत कुल ९७ लाख १० हजार ६६५ मतदाताहरूबाट १२५ जना विधायक निर्वाचित गर्नेछन् । त्यसका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरूमार्फत आज मतदान सम्पन्न भएको हो ।
यो निर्वाचनमा विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि पर्यवेक्षणमा सक्रिय रहेका थिए । सोही अनुसार नेपालका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वटा मतदान केन्द्रको पर्यवेक्षण गरेका हुन् ।
उनले पर्यवेक्षण गरेको तीनमध्ये टोल कोर्क प्रावि मतदान केन्द्रबाट ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।















प्रतिक्रिया