३० आश्विन २०८३, शुक्रबार

रामेछाप पुगेका शंकर पोखरेलले प्रचण्ड, माधव र रविप्रति आक्रामक हुँदै के भने ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ७ साउन । नेकपा एमाले केन्द्रीय केमिटीको आयोजनामा ४५औँ पुष्पलाल स्मृति दिवस मनाउन पार्टीका महासचिप शंकर पोखरेल आज रामेछाप आएका छन् ।

पुष्पलालको गृहजिल्ला समेत रहेको रामेछापको मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेप्रति आक्रामक शैलीमा कडा टिप्पणी गरेका छन् ।

प्रचण्ड विदेशीका लागि मात्रै कम्फर्टेबल बने

महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्ड नेपाली जनताका लागि नभइ विदेशीका लागि मात्रै कम्फर्टेबल बनेको आरोप लगाएका छन् । कम्युनिष्टका नाममा प्रचण्ड वा माधव नेपालबाट देश र पार्टीलाई कुनै फाइदा नहुने बताए ।

महासचिव पोखरेलले एमालेका विरुद्ध सबै पार्टी एकातिर भएर एक्ल्याउन ख‍ोजेको बताउँदै तर उनीहरू सबै असफल भएको बताए । एमालेबाहेक अरु पार्टीले देशको हित नगर्ने र उनीहरूमा जनताको सेवा गर्ने कुनै भिजन नभएको पोखरेलको भनाइ छ ।

देश बनाउने हो भने छिमेकीलाई हेरेर हुँदैन

यस्तै, उनले देशको विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको औंल्याउँदै देश बनाउने हो भने छिमेकी वा विदेशीलाई हेरेर नहुने बताएका छन् । देश बनाउने हो भने छिमेकीलाई हेरे होइन देशलाई हेर्नुपर्ने उनको भनाइ छ ।

देश बनाउने काम नेकपा एमालेबाट मात्र सम्भव रहेको उनले प्रष्ट पार्दै अन्य शक्तिहरू विदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागेका र विदेशीका सामु लम्पसार परेका बताए । ‘देश बनाउने हो भने छिमेकीलाई हेरेर होइन, देशलाई हेरेर अघि बढ्नु पर्छ,’ उनले भने ।

बलियो राजनीतिक शक्तिले मात्र देशको विकास गर्न सक्ने बताउँदै उनले भने, ‘हामीले राजनीतिक दल त निर्माण गरेका छौँ तर राष्ट्रको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति निर्माण गर्न सकेको छैनौँ ।’

माधव नेपाल अवसरवादी

माधव नेपाल कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन हिँडेको र अवसरवादको दलदलमा फसेर कांग्रेसको पुच्छर बन्न पुगेको पोखरेलको भनाइ छ । एमालेलाई हराउन हाम्रो भूमिका महत्त्वपूर्ण छ भनेर अहिले माधव नेपाल कांग्रेस र माओवादीसँग सत्ताको बार्गेनिङमा लागेको उनले बताए ।

कांग्रेससँग एमालेलाई समाप्त पार्ने र सत्ताको बार्गेनिङ गर्ने व्यक्ति र पार्टी कम्युनिष्ट हुन नसक्ने उनले बताए ।

एमालेविरुद्ध घेराबन्दी

एमाले र एमाले नेतृत्व विरुद्ध अहिले चौतर्फी घेराबन्दी भएको महासचिव पोखरेलको भनाइ छ । एउटा पार्टीका विरुद्ध अनेक शक्ति मिलेका टिप्पणी गर्दै उनले नेकपा एमालेले गल्ती गरेको कारण नभई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लागेको कारण एमालेविरुद्ध घेराबन्दी गरिएको उनले प्रष्ट पारे ।

अहिले एमाले माथिको घेराबन्दी जनताको सत्ता माथिको घेराबन्दी भएको पोखरेलले प्रष्ट पारे । त्यो घेराबन्दीका विरुद्ध मोर्चाबन्दी आवश्यक रहेको पोखरेलको भनाइ छ । यसका लागि प्रतिवद्ध पार्टी सदस्य जरुरी रहेको उनले बताए ।

त्यसैले यस पटक सदस्यता वितरणमा कडाइ गरिएको उनको भनाइ छ । पार्टी सदस्य बन्न र नवीकरण गर्न सदस्य आफैँ आउनु पर्नेमा उनले जोड दिए । बोकेको सदस्यले पार्टीको काम गर्न नसक्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओली विदेश भ्रमणमा जाँदा सँगै हिँडेका एक जना व्यवसायीको फोटो राखेर एमाले अध्यक्ष केपी ओलीको एक सय किलो सुन तस्करीमा संलग्नता भन्ने भ्रामक प्रचार गरिएको उनले बताए । ‘जो चोर छ उसैको ठूलो स्वर भने जस्तै जो सबैभन्दा ठुलो भ्रष्टाचारी छ उसको नै भ्रष्टाचारविरुद्ध सबैभन्दा ठूलो स्वर छ,’ महासचिव पोखरेलले भने ।

देश बनाउने समर्थ्य एमालेसँगमात्रै

यो देश बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो नेकपा एमालेसँग मात्र भएको टिप्पणी उनको छ । अन्य दलबाट नेपालको विकास र समृद्धिको नेतृत्व हुन नसक्ने उनले बताएका छन् ।

अबको स्थानीय निर्वाचनमा जो सुकै जति सुकै मिलेर आए पनि एमालेलाई पराजित गर्न नसक्ने तर्क उनको छ ।

रास्वपा पार्टी नै होइन !

महासचिव पोखरेलले पुराना दल काम नलाग्ने भए भन्ने एक खालको भाष्य निर्माण गर्ने प्रयत्न अहिले भइरहेकोप्रति दुःख व्यक्त गर्दै लक्ष र गन्तव्यविनाका दलको पछि जनता लागेको बताए । लक्ष्यविनाका दलले देशको नेतृत्व गर्न नसक्ने प्रष्ट पार्दै उनले जे भन्दा नागरिक खुसी हुन्छन् त्यही भनेर राजनीति अघि नबढ्ने धारणा व्यक्त गरे ।

नेपाललाई प्रयोगशाला बनाउन चाहनेले यस्तो गरिरहेका कुरा बुझ्न आवश्यक रहेको उनको भनाइ छ । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त के हो र गन्तव्य के हो स्पष्ट नभएको बताएका छन् ।

‘स्वतन्त्र पार्टी भनेको के हो ? सिद्धान्त के हो ? गन्तव्य के हो ? भविष्य कै हो ? जनताले जे चाहन्छन् त्यही रे ! त्यस्तो हुन्छ ? राजनीति पार्टी भनेको समाजको ऐना मात्र होइन भविष्य देखाउने मार्गदर्शक पनि हो । त्यसैले हा…ह‍ोमा नलागौँ देश बनाउने र भिजनरी पार्टी एमालेमा सबैलाई गोलवद्ध गराउन सबै लागौँ । विकल्प भन्दै ७ वर्ष अघि नयाँ शक्ति पार्टी जन्मियो तर अहिले त्यो कहाँ छ ? त्यसैले नयाँ भन्ने भ्रममा कसैलाई नपर्न आग्रह गर्दछु,’ महासचिव पोखरेलले भने ।

देशमा धेरै दल आवश्यक छैन, बलियो राजनीतिक शक्ति बनाउँ

देशमा धेरै दल आवश्यक नरहेको बताउँदै उनले बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको चर्चा गरे । ‘देशमा धेरै दल आवश्यक छैन । जति धेरै राजनीति दल त्यति नै अस्थिरता, जति धेरै राजनीतिक दल त्यति विदेशी चलखेल । त्यसैले बलियो राजनीतिक शक्ति बनाऊ, धेरै दल बनाउन तिर नलागौँ,’ उनले भने । अहिले भएका दललाई बलियो बनाउनुपर्ने उनको विचार छ ।

कार्यक्रममा महासचिव पोखरेलले बीपीले कांग्रेस एक्लै निरंकुशताविरुद्ध लड्न चाहेको भएपनि पुष्पलालले संयुक्त आन्दोलन गरौँ भनेको बताए । उनले पुष्पलालकै नीतिमा कांग्रेस पुगेको र संयुक्त जनआन्दोलनको माध्यमबाट पञ्चायतको अन्त्य भएको बताएका छन् ।