सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनए माल्टाको अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी दर्ता

दैनिक नेपाल २०८० साउन ७ गते १५:४५

माल्टा, ७ साउन । आगामी साउन १४ (जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको निर्वाचन (२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

अर्को साता हुने सो निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रोशन गिरी नेतृत्वको टीमले उम्मेदवारी दर्ता गराएको छ । उनको टीमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

अध्ययनको सिलसिलामा माल्टा पुगेका पोखराका गिरी एनआरएनए माल्टाका निर्वतमान महासचिव पनि हुन् । त्यस्तै, महासचिवमा उम्मेद्वारी दिएका पाण्डे प्रवासी नेपाली मञ्च माल्टाका निवतर्मान सचिव हुन् ।

दोलखाबाट रोजगारीको सिलसिलामा प्रवास पुगेका पाण्डे स्वदेशमै रहँदा विद्यार्थी राजनीति हुँदै विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक अभियान र सहकारी अभियानमा पनि क्रियाशील थिए ।

त्यस्तै, ६ वर्षदेखि माल्टामा विभिन्न सामाजिक अभियानमार्फत जोडिएर प्रवासी नेपाली मञ्चको नेतृत्व सम्हालिसकेका निवतर्मान अध्यक्ष सत्यनारायण झाले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । उनले एनआरएनए माल्टाको दोस्रो अधिवेशनमा निर्वाचन समितिमासमेत रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी माल्टामा करिब सात वर्षदेखि विभिन्न सामाजिक अभियानमा नेतृत्वदायी भूमिकामा रहेर खटिँदै आएका छन् ।

निर्वाचन समितिको पछिल्लो तथ्यांकअनुसार आगामी नेतृत्वका लागि अध्यक्ष र महासचिवसहितको पदाधिकारी तथा सदस्यसहित ६० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ३ हजार १०८ मतदाता एनआरएनए माल्टाको निर्वाचनमा अनलाईन भोटिङ प्रणालीबाट मतदान गराउने तयारी छ ।

अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनेमध्येका २७ वर्षीय गिरी विजयी बने एनआरएनएको इतिहासमा अहिलेसम्मकै कान्छा अध्यक्ष बन्नेछन् । निवतर्मान अध्यक्ष भुवन अर्यालले भने आईसीसी सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन् । अर्याल टीममा महासचिव रहेका गिरीले यसअघि एनआरएनए माल्टाको युवा संयोजकका रूपमा समेत सफल नेतृत्व गरिसकेका छन् ।

उता, महासचिवका उम्मेद्वार पाण्डे दुई/तीन वर्षको छोटो अवधिमै त्यहाँ रहेका प्रवासी नेपालीहरूको समस्या सम्बोधनका लागि पहल गर्न अहोरात्र खटिएर प्रशंसा बटुल्दै आएका छन् । उनले सामाजिक सञ्जाल, कुटनीतिक समन्वय र सम्वादमार्फत त्यहाँ रहेका नेपालीहरूको अस्थायी कार्ड र बसोबासको समस्या, भिसाको समस्या, कानुनी समस्या भोगिरहेका नेपालीहरूको समस्या समाधानका लागि अग्रशरता देखाएर लोकप्रियता बटुल्दै आएका छन् ।

गिरी, पाण्डे, झासहितका उम्मेद्वारहरूले नेतृत्वमा आएपछि गरिने कामका बारेमा दुई दर्जनभन्दा बढी प्रतिबद्धता अगाडि सारेर चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित