
लमजुङ, ६ साउन । जिल्ला स्थित दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६५३ जना लाभान्वित भएका छन् ।
आज शनिबार नौथर सेरामा दोर्दी गाउँपालिका, नमूना सामुदायिक अस्पताल, लायन्स क्लव अफ लमजुङ बेँसीसहर र बबिता क्लिप्स् इन्टरटेन्मेन्ट लमजुङको संयूक्त आयोजनामा आयोजित यस शिविरमा दोर्दी गाउँपालिकाका यतिका संख्यामा लाभान्वित भएका हुन् ।
आयोजक सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार ४०५ जना महिला र २४८ जना पुरुष लाभान्वित भएका हुन् । निशुल्क शिविरमा सामान्य परीक्षण, दन्त सेवा, महिला रोग परीक्षण, छाला रोग, भिडियो एक्सरे, रगत परीक्षण, मनोविमर्श भएको थियो ।
प्रमुख श्रेष्ठले भने, ‘शिविरमा २१५ जनाको भिडियो एक्सरे, १३८ जनाको सामान्य परीक्षण, ९५ जनाको रगत परीक्षण, ६५ जनाको महिला रोग परीक्षण, ५५ जनाको दन्त परीक्षण, ५५ जनाको छाला रोग परीक्षण, १५ जनाको दात उखालेको र १५ जनाको मनोविमर्श गराएको थियो ।’
शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरूको पाठेघर, पेटसम्बन्धी, हाडजोर्नी, एलर्जी, छालारोगसम्बन्धी, डिप्रेशन समस्या बढी देखा परेको बताइएको छ ।

आयोजक सो अस्पतालका प्रमुख श्रेष्ठको नेतृत्वमा महिला रोग विषेशक्ष विजय शाह, शल्य चिकित्सक आशिष गिरीसहित १२ स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । पालिका तथा ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवाराज अधिकारीले बताए ।
लुकेर रहेका तथा उपचारका लागि टाढा जानु पर्ने भए पनि पालिकामा सञ्चालन गरिएको शिविरले पालिकावासीलाई सहज भएको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिका नागरिकको स्वास्थ्यप्रति गम्भिर रहेकाले नागरिकलाई स्वास्थ्य बनाई राख्न आवश्यक बजेट समेत छुट्याएका छौँ ।’
आगामी दिनमा समेत आवश्यक शिविर पालिकाभित्रै गर्दै नागरिकलाई सेवा दिने भएको छ । पालिकादेखि जिल्लाको सदरमुकाम बेँसीसहर तथा जिल्ला बाहिर उपचार तथा जाँचको लागि जानुपर्ने नागरिकहरूले पालिकामै नि:शुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि हर्षित भएका थिए ।














प्रतिक्रिया