
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका कुनै सदस्यहरुलाई अभियोग लाग्दैमा दोषी करार गर्न नहुने धारणा राखेका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनीहरुले अदालतले ठहर नगरेसम्म दोषी हुन नसक्ने भन्दै अभियोगकै कारण दोषी करार गर्न नहुने बताएका हुन् ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीका नेता बालकृष्ण खाँणलाई पुर्पक्षमा राखेको अवस्थामा दोषी भन्न नमिल्ने बताए । कांग्रेस परिवारका सदस्य जेलमा भएको अवस्थामा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले परिवारका सदस्यलाई अभियोग लाग्दा पार्टीकै व्यक्तिहरु छिटो पक्रिनु भनेर डेलिगेशन गरेको भन्दै आपत्ति जनाए । अदालत नभई पार्टीले नै दोषी करार गर्ने हो भने वकिल राखेर वहस पनि गर्न नहुने उनको तर्क थियो ।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने धारणा व्यक्त गरे । चुनावमा जाँदा बनाएको घोषणापत्र अनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराउँदै उनले पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयमा पनि जोड दिए ।
केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिएका छन् ।
साउन २ गतेदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत र पुष्पा भुसालले धारणा व्यक्त गरे ।
यस्तै, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले पनि आजको बैठकमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।















प्रतिक्रिया