
बाँके, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरू भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरू भएको हो ।
जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरू भएको छ ।
नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरू गरेको हो । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरू गरिएको हो ।
वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताए ।
‘यसअघि अन्यत्रै गएर यससम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरू भएपछि सहज हुन्छ,’ उनले भने ।
एनका अनुसार नरैनापुरबाट पहिलो दिनमा ३ जनाले यससम्बन्धी सेवा लिएका छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताए ।















प्रतिक्रिया