
काठमाडौं, ५ साउन । आज बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्तारुढ नेपाली कांग्रेसकै सांसद सुनील शर्माले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने भन्दै उनले सुनतस्करी बारेको छानबिनमा सहयोग गर्नका लागि अर्थ र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले यस प्रकरणमा पक्ष र बिपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरेका छन् ।
सांसद शर्माले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको दाबी पनि गरेका छन् । ‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थ मन्त्रालय अन्तर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मातहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ उनले भने ।
एनले राजीनामा माग गरेका अर्थमन्त्री महत नेपाली कांग्रेस र गृहमन्त्री नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।















प्रतिक्रिया