२९ आश्विन २०८३, बिहिबार

सरुमारानी गाउँपालिकाले सञ्चालनमा ल्यायो स्कुल बस (तस्वीरहरूसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २ साउन । प्युठानको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।

जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाबाट विनियोजित ३५ लाख २३ हजार रुपैयाँमा स्कुल बस खरिद गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले सरुमारानी ४ बड्डाडामा स्कुल बसको उद्घाटन गर्दै स्कुल बस सञ्चालनपछि विद्यार्थीलाई आउजाउका लागि सहज हुने बताए ।

उनले भने, ‘दैनिक हिड्नुपर्ने बालबालिकाको दु:ख देखेर स्कुल बस खरिद गर्ने निर्णय गरेका हौँ ।’ सरुमारानिको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै आफूलाई साथ दिन उनले आग्रह गरेका छन् ।

शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पुग्ने अध्यक्ष विश्वकर्माको भनाइ छ । शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधिको सक्रिय पहलले सिङ्गो विद्यालय परिवारलाई उत्साहित बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम पल्लीले सुनाए ।

गाउँमा विद्यालय नहुँदा चार घण्टासम्म पैदल हिँडेर आउजाउ गर्नुपर्ने बालबालिकाको शिक्षाका लागि बस सेवा प्रभावकारी हुने विश्वास गरिएको छ । बस नहुँदा हपुरखोला, छत्तिवनदमार, मोतिपुर, कुँडुलेलगायत ठाउँका बालबालिकालाई दैनिक २४ किलोमिटर बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

बस सञ्चालनमा आएपछि पैदल हिँडेर स्कुल पुग्ने झण्डै १३० जना विद्यार्थी लाभान्वित हुने छन् ।

वि.सं २०१५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाई हुने गरेको छ । हाल यस स्कुलमा ६३० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक गोपाल भुसालले जानकारी दिए ।