शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० साउन १ गते २२:४०

दोहा, १ साउन । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रमेश भट्टले श्रमजिबी मजदुरहरूको आवाज बुलन्द गर्न आफूले उम्मेदवारी दिन लगेको बताएका छन् ।

विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अनवरत रूपमा समाजिक कार्यमा सक्रिय रहेको जनाउदै आफ्नो उम्मेदवारी घोषणा गरेको भट्टले जानकारी दिए ।

कतारको सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दे प्राप्त गरेको अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उदेश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

एनआरएनको खस्कँदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवम् विश्वसनीय एनसीसी बनाउने अभियानमा सबैको साथ सहयोग हुनेमा आफू बिश्वस्थ रहेको उनले बताए ।

कतारस्थित नेपाली दूतावाससँग समन्वय गरी नेपाली श्रमिकहरूको हकहितलाई प्राथमीतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न योजनाका साथ उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवम् आवश्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने उनले जारी गरेको प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

कतारमा रहेका नेपाली श्रमिकहरूका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम संचालन गर्न आफ्नो उदेश्य रहेको उनले बताए ।

अहिलेसम्म एनआरएनए कतारको अध्यक्षमा भट्टसहित पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेहरूमा जैबी राई चाम्लिङले, पदम गरी, अब्दुल रहमान लगायत अन्य एक जना रहेका छन् । संघको निर्वाचन २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाईमा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित