२९ आश्विन २०८३, बिहिबार

बैंकहरूले तोकेको नयाँ ब्याजदरबारे के भन्छन् नबिल बैंकका डेपुटी सिइओ ज्ञवाली ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १ साउन । वाणिज्य बैंकहरूले साउन महिनाका लागि तोकेको नयाँ ब्याजदर आज साउन १ गतेदेखि लागू भएको छ ।

यो पटक बैंकहरूले आ–आफ्नो रणनीतिअनुसार फरक–फरक ब्याजदर निर्धारण गरेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार साउन महिनाका लागि बैंकहरूले आ–आफ्नो पोजिसन अनुसारको ब्याजदर निर्धारण गरेका छन् ।

साउन महिनाका लागि बैंकहरूले औसत ब्याजदर ९ दशमलव ७२ प्रतिशत कायम गरेका छन् ।

नेपाल बैंकर्स एसोसिएशनले वर्षौंदेखि सहमतिमार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैंकहरूले आफ्नो रणनीतिक योजनाअनुसार ब्याजदर प्रकाशित गरे ।

धेरै समयपछि एएएलसीओमा गहन छलफलपश्चात बैंकहरूले ब्याजदर प्रकाशित गरेका हुन् । यसरी बैंकहरूले ८ दशमलव ९५% प्रतिशत देखि १० दशमलव ९८% सम्मको ब्याजदर प्रकाशित गरेपछि सामाजिक सञ्जालमा फेरि विभिन्न टिकाटिप्पणी सुरू भएका छन् ।

यसअघि नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदरमा सिन्डिकेट गर्‍यो, कार्टेलिङ गर्‍यो, खुल्ला बजारमा यस्तो किन ? भन्नेहरू नै अहिले अर्को बहानामा बैंकर्स र बैंकहरूको बारेमा नकारात्मक कोणहरूबाट टिप्पणी गर्न थालेका छन् ।

यस सन्दर्भमा नबिल बैंकका डेपुटी सिइओ मनोजकुमार ज्ञवालीले आफ्ना धारणा सार्वजनिक गर्दै बजारमा आएका केही नकारात्मक कुराहरूबारे स्पष्ट गर्ने कोसिश गरेका छन् ।

यस्तो छ, उनको धारणा–

१. खुल्ला बजारमा संस्थाहरूले आफ्नो योजना अनुसारका दरहरू प्रकाशित गर्ने हो । नौ वटा बैंकहरूले ब्याजदर घटाएका छन्, पाँच वटाले बढाएका छन् भने ६ वटाले यथावत प्रकाशित गरेका छन् । औषत उच्चतम ब्याजदर ९ दशमलव ९९% बाट घटेर ९ दशमलव ७८% कायम भएको छ । यसैले बैंकहरूले ब्याजदर औषतमा घटाएका छन् ।

२. बढ्दो खराब कर्जा र घट्दो कर्जा मागका कारण होस् वा पुँजी पर्याप्तता यथेष्ट नभएका बैंकहरू यथास्थितिमा रहने निर्णय लिए र यथावत ब्याजदर कायम गरे । आफ्नो सीडी रेसियो सहज भएका अनि बजारमा तरलता पर्याप्त छ र केही निक्षेप घट्दैमा फरक पर्दैन लागत घटाऔ, बसेरेट घटेमा ब्यापार गर्ने पनि सजिलो हुन्छ भन्ने धारणा राख्ने बैंकहरूले ब्याजदर घटाए । साउन महिनामा ठूलो रकमको संस्थागत निक्षेप नवीकरण गर्ने पर्ने, सीडी रेसियो ठिक्क भएका र ब्यापार वृद्धि निरन्तरता दिनुपर्छ भनेर रणनीति लिने बैंकहरूले ब्याजदर बढाए । सबैको रणनीति एउटै र अवस्था एउटै हुँदैन, यो बुझ्नुपर्दछ ।

३. ब्याजदर बढाउँदा पनि समग्र निक्षेपको लागत कम नै रहन्छ किनभने गत वर्षसम्म संस्थागत निक्षेपकर्तालाई मुद्दति निक्षेप व्यक्तिगत निक्षेपकर्ताको भन्दा २% कम हुनुपर्ने व्यवस्था थिएन । ब्याजदर बढ्दा पनि ठूलो रकमको संस्थागत निक्षेपकर्ताको निक्षेप कम दरमा नवीकरण हुनेछ ।

४. नबिल बैंकको हकमा, असारसम्म ५ दशमलव २०% रहेको स्प्रेड दरलाई साधनबिना नै ४% मा झार्नुपर्नेछ । यसरी ब्याजदरको अन्तरलाई घटाउँदा यसको फाइदा ग्राहकहरूलाई दिनुपर्ने हुन्छ । हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरूलाई ७०% हाराहारी लाभ बाँड्नुपर्छ भन्ने आधार बनायौँ । १८ लाख भन्दा बढी निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरूलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकहरूलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन । कर्जा ग्राहकहरूलाई एक पटक प्रिमियम घटाइसकेपछि बढाउने कुरामा नेपाल राष्ट्र बैंकको निर्देशन १५ बाधक छँदैछ । यसैले यति समझदारीपूर्वक लिइएको रणनीतिक निर्णय नबुझेर नबिल जस्तो बैंकले यसो गर्‍यो भन्ने टिप्पणीमा जवाफ लेख्न मन लाग्यो ।

खुल्ला बजारमा आफ्नो व्यावसायिक रणनीति अनुसार संस्थाहरूले फरक–फरक निर्णय लिन्छन र ग्राहकहरूलाई धेरै विकल्पहरू प्राप्त हुन्छ पनि । यसर्थ बैकिङ्ग र यसका निर्णयहरूलाई सतही रुपमा बुझेर वितृष्णा फैलाउने प्रकारका टिप्पणी नभइदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।

जय होस, शुभ होस !!