
काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न नभइ भ्रष्टाचार गर्नका लागि काम गरिरहेको बताएका छन् ।
पार्टीको नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आज बसेको दशौं बैठकलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले देख्दा भ्रष्टाचारीलाई काबबाही गरेजस्तो देखिए पनि भित्र–भित्र भ्रष्टाचार गर्ने वातावरणका लागि काम गरिरहेको बताएका हुन् ।
‘सरकारले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही होइन भ्रष्टाचार गर्नका निम्ति काम गरिरहेको छ,’ उनले भने । यस्तै, उनले ललिता निवास जग्गा प्रकरणको कारबाही अगाडि बढाउनका लागि आफूले प्रधानमन्त्री रहेकै समयमा प्रहरीको अनुसन्धान विभाग सीबीआईलाई पत्र पठाएको पनि स्पष्ट गरेका छन् ।

अहिले मुलुकको राजनीति आफूले राम्रो काम गर्ने नभई अरुलाई बेठीक कसरी देखाउने भन्ने ढङ्गले अगाडि बढेको र गठबन्धनमा रहेका दलहरू राजनीतिलाई अपराधीकरणतर्फ लैजान सहयोगी बनिरहेको अध्यक्ष ओलीको धारणा छ ।
उनले नेकपा एमालेले २०५१ सालमा पहिलो पटक सरकार गठन गर्दा राज्य सञ्चालन र विकासका सन्दर्भमा नयाँ थेसिस अगाडि बढाएको, संविधान निर्माणको सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नाका साथै त्यसपछि सरकारको नेतृत्व गर्दा विकास, जनतालाई राज्यबाट प्राप्त हुने सेवासुविधा र राष्ट्रिय हितका सवालमा अन्य दलले भन्दा फरक ढङ्गले काम गरेको चर्चा गरे ।
पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीका नीति, कार्यक्रम र गन्तव्यको आलोकमा नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो कामलाई अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमाले नीति, कार्यक्रम र गन्तव्यका दृष्टिले सर्वाधिक स्पष्ट पार्टी भएको बताउँदै एमालेका नीति कार्यक्रम र गन्तव्य परिपूर्ण हुँदा हुँदै पनि वर्तमानको शक्ति सन्तुलन र चुनौतीलाई ध्यानमा राखेर अध्ययन र अद्यावधिक गरिरहनुपर्ने धारणा व्यक्त गरे ।
बैठकमा प्रतिष्ठानका प्रमुख पोखरेलले समय तालिकासहितको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा विगतका कामको रिपोर्टिङका साथै विभिन्न विषयका डेस्क गठनका सम्बन्धमा पनि छलफल गरिएको थियो ।















प्रतिक्रिया