
काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्ती शोषणको अवशेषलाई अन्त्य गर्न चाहानेहरू सबैलाई बधाई दिएका छन् ।
आज प्रतिनिधि सभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेकामा खुसी व्यक्त गर्दै उनले यसको पक्षमा रहेकाहरूलाई पनि बधाई दिएका हुन् ।
‘सबैलाई हार्दिक बधाई !,’ उनले सामाजिक सत्ताजालमा लेखेका छन्, ‘आज प्रतिनिधिसभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको छ । यस अवसरमा सामन्ती शोषणको यसप्रकारको अवशेषलाई अन्त्य गर्न चाहाने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
यस्तै, उनले विधेयक पारित गर्न भूमिका लेख्ने सबैलाई धन्यवाद पनि दिएका छन् । ‘विधेयक पारित गर्न भूमिका खेल्नुहुने प्रतिनिधि सभाका सबै माननीय सदस्यहरू र संसदलाई विनम्रतापूर्वक धन्यवाद प्रकट गर्दछु ।’
यसैगरी उनले विधेयक पारित भए पीडितलाई न्याय दिलाउन निकै सचेततापूर्वक काम गर्नुपर्ने पनि बताएका छन् । ‘यो ऐन निर्माणले मिटर ब्याज पिडितलाई न्याय दिलाउने अभियान लाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ । यद्यपि, यस सन्दर्भमा अझै सचेततापुर्बक मेहनत गर्नु जरुरी छ ।’
आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो ।
संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ ।
राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।















प्रतिक्रिया