२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचार निर्मुल पार्न हिँडेको एमालेले भ्रष्टाचारीलाई संरक्षण दिँदैन : राजेन्द्र गौतम

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३० असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचारमा संलग्नहरू जो कोही भए पनि एमालेमा रहन नसक्ने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरप्रश्चिम प्रदेशस्तरीय प्रचार योजना तर्जुमा विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचार निर्मुल पार्न हिँडेको पार्टी भएकाले कोही पनि भ्रष्टाचारीलाई पार्टीले संरक्षण नदिने स्पष्ट गरेका हुन् । ‘भ्रष्टचारमा मुछिएका कोही एमाले हुँदैन । उसले कानुनी सफाई नपाएसम्म एमालेमा सक्रिय हुन पाउँदैन,’ प्रचार प्रमुख गौतमले भने ।

उनले पशुपतिको जलहरी काण्डमा एमालेलाई फसाउन नेपालका सबैजसो राजनीतिक दलहरू लागेका भए पनि जलहरीमा कुनै खोट नभेटेपछि उनीहरूकै अनुहार चाउरिएको बताए । भ्रष्टचारमा शून्य शहनशीलता एमालेकै एजेण्डा रहेको बताउँदै नेता गौतमले भुटानी शरणार्थी प्रकरणमा एमालेले उच्च तहको सहयोग गरेको जिकिर गरे ।

सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख बलदेव रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका पालिकामा प्रचार संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको प्रचार विभागलाई पनि बैठकले पूर्णता दिएको छ ।

बैठकमा केन्द्रबाट खटाइएका सुदूरपश्चिममा प्रचार संयोजक कमला बोहरा र केन्द्रीय प्रचार विभाग सचिव गगन बिष्टले कार्यपत्र प्रस्तुत गरे भने पोलिटब्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य भैरब सिंह, सन्तोष शर्मा, केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट, अनुशासन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतले विभिन्न सुझावसहित आ–आफ्नो धारणा व्यक्त गरे ।