
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट मानव जीवनका लागि जीवनोपयोगी शिक्षा आर्जन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), रूपन्देही जिल्ला कमिटीले रूपन्देही जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्न आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले जीवनोपयोगी शिक्षा आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले नेपालीहरू अतुलनीय प्रतिभाशाली पुर्खाका सन्तान भएको र उनीहरूको आनुवंशिक गुण अहिलेको पुस्तामा पनि रहेको चर्चा गर्दै आफूभित्रको प्रतिभा र रूचि अनुसार अध्ययनलाई अगाडि बढाउँदा छिटो प्रगति गर्नसक्ने क्षमता रहेको धारणा राखे ।
माध्यमिक शिक्षा परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीले आफ्नो प्रतिभा र रूचि अनुसार विषय छनोट गरी अध्ययन गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष ओलीले आफ्नो विषयमा विशेषज्ञता हासिल गर्नुपर्ने बताए । ओलीले एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई र अगाडिको अध्ययनमा सफलताका लागि शुभकामना पनि दिए ।
मानव समाजलाई सभ्य, सुसँस्कृत रूपमा अगाडि बढाउन र देशको विकासका लागि सबै क्षेत्रमा योग्य जनशक्तिको आवश्यकता रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने,–देशका लागि डाक्टरै डाक्टर बनेर इन्जिनियरको काम कस्ले गर्दिने रु इन्जिनियरै इन्जिनियर बनेर स्वास्थ्य जाँच कस्ले गर्ने रु त्यसैले चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि वैज्ञानिक, उद्योग, व्यापार, उत्पादन सबै क्षेत्रमा राम्रो जनशक्तिको आवश्यक पर्ने हुँदा नयाँ पुस्ताका भाइबहिनीका लागि म अगाडिको अध्ययनका लागि त्यस अनुसार आफ्नो प्रतिभा र रूचि अनुसार विषय छान्न आग्रह गर्दछु । उनले कुनै पनि विषयको महत्व कम नभएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले यही भूमिमा ज्ञानको विकास भएको र पूर्वजले दर्शन, विज्ञान र प्रकृति लगायत विषयमा खोज अनुसन्धान गरेका थिए भन्ने कुरा नयाँ पुस्ताले बुझ्नुपर्ने धारणा राखे । उनले नयाँ पुस्तालाई कुलतमा नलाग्न, नराम्रो व्यवहार नगर्न र असल आनीबानीका साथै गलत बाटोमा लागेकाहरूलाई समेत सही बाटोमा ल्याउने प्रयत्न गर्नुपर्ने कुरामा जोड दिए ।
नयाँ पुस्ताले आधुनिक विज्ञान प्रविधिको प्रयोग र परिमार्जित हुँदै आएको शिक्षाबाट देश, मानवजातीको सेवा र स्वयंको उत्कृष्ट जीवन बनाउनसक्ने ओलीले विश्वास व्यक्त गरे । कार्यक्रममा एसईईमा उत्कृष्ट अङ्क ९जिपिए ३।६० ल्याउने ६१३ जना विद्यार्थी र ५३ विद्यालयलाई सम्मान गरिने वताइएकोे छ ।















प्रतिक्रिया