
काठमाडौं, २९ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।
आज शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका हुन् ।
उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।
त्यस्तै, सांसद पन्तले आफुले विधेयक नल्याउने तर दोष एमालेप्रति लगाउने कुरा उचित नभएको जिकिर गरे । उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्याइएको १५ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा व्यक्त गरे ।
उनले आफू राजतन्त्रवादी नभए पनि गणतन्त्रवादीहरूले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे ।
बैठकमा प्रतिनिधिसभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बोलाइएको छ ।















प्रतिक्रिया