
काठमाडौं, २९ असार । सांसदहरुले ललिता निवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरुले ललिता निवास प्रकरण जग्गा बिक्री गर्ने मुख्य व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले किन्नेलाई मात्रै नभई जग्गा बिक्री गर्ने मुलहरुमाथि नै कारबाही हुनुपर्ने माग गरेका हुन् ।
त्यस्तै, सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा टिप्पणी उठाउने शाखा अधिकृत जेल जाने तर निर्णय गर्ने व्यक्ति भने खुल्ला रुपमा हिड्ने देखिएको बताए । उनले ललिता निवास प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।
उनले दलहरु बसेर भ्रष्टाचार गर्ने तर कर्मचारीहरुलाई फसाउने कामले मुलुकमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने जिकिर गरे ।















प्रतिक्रिया