
काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको नवीन राप्रपा–२०८० को कार्ययोजना सार्वजनिक गरेको छ ।
आज बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले राप्रपा: अब नवीन राप्रपा कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारा सहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरू गरेको जनाएको हो ।
अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरेको छ भने तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वत: पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनले पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए । त्यस्तै, पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने उनको भनाइ छ ।
राप्रपाले ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजिविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदवाव श्रृजनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ ।















प्रतिक्रिया